कलिलैमा हराउँछन् छोरी

61

अन्नपूर्ण पोष्ट
मंसिर ४,

घटना १

बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्‍यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’

किशोरीसँगै पढ्ने साथी त्यहाँ बस्ने गरेको पत्ता लाग्यो। उनले अर्को नम्बरबाट घरमा म्यासेज पठाएकी रहेछन्। ‘मलाई मन पर्ने साथीसँग विवाह गर्दै छु। मेरो चिन्ता नगरिस्यो’, म्यासेजमा थियो। त्यो नम्बर पत्ता लगाउँदा सर्लाही घर भएका एक किशोरको हुलिया खुल्यो। उनी शान्तिनगरमा मेडिकल पसल चलाउँछन्। सिमकार्ड लिँदा उनले बुवाको नम्बर दिएका रहेछन्। प्रहरीले ती किशोरका बुवालाई फोन गर्‍यो। उनकै छोरासँग किशोरी सर्लाही पुगेको जानकारी प्रहरीले पायो।

फेसबुक हेर्दा ती किशोरी र किशोर नजिकिएका देखिए। प्रहरीसँग कुरा गरिरहेकै बेला किशोरीका बुवाको मोबाइलमा म्यासेज आयो। किशोरीले कुनै बैंकबाट ४० हजार रुपैयाँ झिकेकी रहेछन्। दुवै परिवार मिलेर समस्या हल गर्ने भन्दै किशोरीका आफन्त प्रहरी कार्यालयबाट बाहिरिए।

घटना २

राजधानीको नाम चलेकै स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी किशोरी एक सातादेखि सम्पर्कविहीन थिइन्। परिवारका सदस्य उनको खोजीका लागि प्रहरीमा पुगे। ती किशोरी आफूभन्दा एक ब्याच सिनियर केटासँग विवाह गर्न गोरखा पुगेको कुरा प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो। उनलाई फर्काउन गोरखाकै एक वडाअध्यक्ष लागिपरे। उद्धार गरी काठमाडौं ल्याउनेबित्तिकै किशोरीले बाबुआमासँग दुखेसो पोखिन्।

‘तपाईं मलाई मोबाइल नकिनिदिने। भनेको कुरा खान नदिने। घुम्न जान नदिने। मलाई स्वतन्त्रता चाहिँदैन ?’, किशोरीको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने। किशोरीले अभिभावकलाई हकारेपछि प्रहरी चकित पर्‍यो। प्रहरीले किशोरीलाई अभिभावकको जिम्मा लगायो। किशोरी ९ कक्षामा राम्ररी पढिरहेको डीएसपी बोगटीले बताए।