Thursday, October 1, 2026
Home पत्रपत्रिका चिकित्सकको परामर्श शुल्कमा मनपरी, तोकिएभन्दा ६० प्रतिशत बढी रकम असुली

चिकित्सकको परामर्श शुल्कमा मनपरी, तोकिएभन्दा ६० प्रतिशत बढी रकम असुली

330

राजधानी दैनिक
साउन ११, काठमाडौं । देशभरका निजी तथा सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालपिच्छे फरक–फरक शुल्क असुल्दै आएको पाइएको छ । केही अस्पताल र सम्बन्धित चिकित्सकले प्रतिबिरामी तोकिएभन्दा ६० प्रतिशतसम्म बढी रकम लिने गरेको पाइएको हो । अस्पताल सञ्चालनलगायतका विभिन्न बहाना देखाउँदै बिरामीबाट एक हजार रुपैयाँसम्म बढी शुल्क लिने गरिएको पीडित बिरामीको गुनासो छ । अस्पतालले बिरामीसँग लिने शुल्क निर्धारण तथा नियमन गर्ने सरकारी संयन्त्रले प्रभावकारी ढंगले अनुगमन नगर्दा उपचारका लागि आउने बिरामीसँग मनोमानी ढंगले शुल्क लिने गरिएको छ । सम्बन्धित अस्पतालले चिकित्सकको शुल्कसम्बन्धी व्यवस्थालाई समेत सूचना पाटीमा टाँसेका छैनन् । यसकारण, बिरामीहरू मनपरी शुल्क तिर्न बाध्य छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० को दफा ३० को अनुसूची ७ मा सेवा शुल्क निर्धारण समितिको व्यवस्था उल्लेख छ । स्वास्थ्य संस्थाले उपचारका नाममा मनोमानी शुल्क लिन नसकून भनेर यो समितिको व्यवस्था गरिएको थियो । जसमा अध्यक्ष स्वास्थ्य सचिव हुने र सदस्यमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रथम श्रेणीको प्रतिनिधि, महानिर्देशकहरू, स्वास्थ्य सेवा विभाग, आयुर्वेद व्यवस्था विभाग र औषधि व्यवस्था विभाग रहने व्यवस्था छ । यसैगरी, अपिनको अध्यक्ष, उपभोक्ता महासंघ प्रतिनिधि र उद्योग वाणिज्य महासंघको प्रतिनिधि सदस्य हुने व्यवस्था छ ।

समितिको सदस्य सचिव स्वास्थ्य मन्त्रालयको चिकित्सा सेवा महाशाखाका प्रमुख हुने व्यवस्था छ । समितिलाई सरकारी, निजी, सामुदायिक, गैरसरकारी तथा सहकारी स्तरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको उपचार शुल्क निर्धारण गर्ने अधिकार छ । तर, निर्देशिकाबमोजिम समितिले चिकित्सकले बिरामीसँग लिने परामर्श शुल्क तोकिए पनि त्यसको प्रभावकारी अनुगमन हुन नसक्दा अस्पतालपिच्छे बिरामीले फरक–फरक तर चर्को रूपमा सेवा शुल्क तिर्न बाध्य छन् ।