३० वर्षपछि न्याय !

213

कान्तिपुर दैनिक
भदौं ८, काठमाडौँ — पेस्तोल चोरीको आरोपमा यातनासहित ४ वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो । सर्वोच्च अदालतले गत साता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकाश हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ । उनीमाथि अन्याय भएको ठहरसहित सर्वोच्च अदालतले फौजदारी न्यायप्रणालीमा स्वच्छ सुनुवाइको पालना गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

कुँवरले २०३६ फागुन १ गते नेपाल प्रहरीमा जागिर सुरु गरेका थिए । २०४२ असार ३० गते मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र काठमाडौं सरुवा भए । साउन १८ गते हवल्दारमा बढुवा भएर उनी तालिम केन्द्रमै कार्यरत थिए । २०४४ माघमा कोतमा रहेकामध्ये दुई रिभल्वर कम भेटियो । उनले तत्काल आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए । त्यसपछि कुँवर र कोतको ड्युटीमा खटिएका जवान यज्ञबहादुर केसीलाई क्वाटर गार्डमा थुनियो । थुनामा उनीहरूले यातनासमेत पाए । हातका नङ तान्ने र नङमा पिट्नेसम्मको यातना दिइयो । यसबीचमा कुनै अदालतमा उपस्थित गराइएन । पछि बिरामी भएका कुँवरको उपचार पनि भएन । २०४४ सालमा उनलाई रानीवनको बीचमा लगियो । हतियार बेचेको आरोपमा मृत्युदण्डको सजाय भएको भन्दै खाल्डो खनेर गाड्ने चेतावनी पनि दिइयो । उनीमाथि कुनै अभियोग र आरोप लागेको थाहा दिइएको थिएन तर अर्को वर्ष २०४५ सालमा उनलाई कारागार लगियो ।