Sunday, September 27, 2026
Home प्रदेश राष्ट्र निर्माणमा खेलाडीको पनि ठूलो भूमिका हुन्छ : मुख्यमन्त्री पौडेल

राष्ट्र निर्माणमा खेलाडीको पनि ठूलो भूमिका हुन्छ : मुख्यमन्त्री पौडेल

120

कात्तिक १,
हेटौंडा : प्रदेश ३ का मुख्मन्त्री डोरमणि पौडेलले राष्ट्र निर्माणका खेलाडीको ठूलो भूमिका हुने बताएका छन्। खेलले एकता र अनुशासनको सन्देश दिने भन्दै खेल विश्वलाई चिनाउने माध्यम समेत भएको बताएका छन्। मकवानपुरको बकैया गाउँपालिकामा शुक्रबारबाट सुरु भएको प्रथम माझी गोल्डकपको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले खेलले विश्वमा नेपाललाई नै छुट्टै पहिचान बनाउन सक्ने बताएका हुन्। वर्तमान सरकार सुखी नेपाली र समृद्ध नेपाल बनाउने लक्ष्य सहित अगाडि बढेको भन्दै मुख्यमन्त्री पौडेलले अब सिमान्तकृत जातजातिहरू पनि अगाडि आउनु पर्ने तर्क गरेका थिए। उनले माझी समुदायका अगुवा संसददेखि विश्वविद्यालयसम्म भेटिन थालेको भन्दै सबै सिमान्तकृत जातजाति पनि यसरी अगाडि आउनु पर्ने बताए। कार्यक्रममा प्रतिनिधि सभाका अर्थ तथा विकास समितिका सभापति कृष्णप्रसाद दाहालले माझी समुदायबाट नेपाल मै पहिलो चोटी मकवानपुरमा गोल्डकप गराउन सफल भएको भन्दै धन्यवाद व्यक्त गरेका थिए। उनले अब माझी समुदायहरु खोलामा मात्रै सीमित नभई समाजको अग्रगामी भूमिकामा हुनुपर्ने बताए। कार्यक्रममा प्रदेश ३ का नेकपाका सांसद बुद्धिमान माझी, राप्रपाकी प्रदेश ३ सांसद रीता माझी, प्रदेश सांसद प्रेमबहादुर पुलामी ‘छिन्तु’, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायतले मन्तव्य व्यक्त गरेका थिए। माझी उत्थान समाज मकवानपुरको आयोजनामा नेपाल मै पहिलो पटक मकवानपुरको बकैया गाउँपालिका ४ जुरेलीस्थित खेल मैदानमा १७ टिमको सहभागितामा प्रतियोगिता भएको खेलकुद संयोजक श्यामसुन्दर माझीले बताए। विशेष गरी माझी जातिको बसोबास रहेको क्षेत्रहरू प्रदेश १, २ र ३ तथा पश्चिमका जिल्लाहरूबाट समेत खेलाडीको टोलीहरू आएका छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। विधागत रुपमा उत्कृष्ट खेलाडीले ५/५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। ‘राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल र पहिचानका लागि खेल’ भन्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन कार्यक्रम संयोजक माझीले बताए।