अछामको विभिन्न शक्तिपिठमा शिवमेला र पुजापाठ

339

लाल बहादुर विक
१३ फागुन,
अछाम । नेपालकै चार धाम मध्यको एक अछामको बैद्यनाथ धाममा धुमधामका साथ पुजापाठ र मेला सुरु भएको छ । प्रसिद्ध र ऐतिहासिक धार्मिक स्थलका रुपमा रहेको बैद्यनाथ धाममा सदाझैं महाशिवरात्रीका दिन भब्य पुजापाठ र मेला लाग्ने गर्दछ । महाशिवरात्री पर्वका अवसरमा आज शुक्रवार बिहानैदेखी आराध्यदेव भगवान् शिवको पूजा–आराधना धुमधामका साथ भैरहेको त्यहाँवाट पत्रकार ललित केसीले जानकारी दिए ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजका दिन भगवान शिवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला हेर्नका लागि अछाम सहित छिमेकी जिल्ला बाजुरा, डोटी, कालिकोट र कैलाली लगायत भारतवाट समेत श्रदालु भक्तजनहरुको ओईरो लाग्ने गर्दछ । शिवरात्रीका दिन बिहानैवाट पुजापाठ सुरु भई रातभर धुमधामका साथ पुजापाठ र मेला लाग्ने परम्परा रहेको छ । यस्तै दिनभर र राती समेत स्थानिय लोक संस्कृती होरी, भुवो, पुताला न्याँउलेलगायतका साँस्कृतिक प्रसतुतीहरु समेत बैद्यनाथ धाममा रातभरी प्रर्दशनी गर्ने संस्कार रहेको छ । यस्तैःमंगलसेनमा अवस्थित धर्मेश्वर मन्दिरमा पनि बिहानैवाट पुजापाठ र मेला सुरु भएको छ । शिवरात्रीको अवसरमा महाँदेवको मुर्ति स्थापनाका साथै बिशेष पुजापाठको कार्यक्रमरहेको र अन्य धार्मीक कार्य पनि भैरहेको धर्मेश्वर मन्दिर ब्यावस्थापन समितीका अध्यक्ष पदम बहादुर धामीले जाँनकारी दिएका छन । जिल्लाका अन्य बिभिन्न ठाँउमा रहेका शिव मन्दिरहरुमा पनि पुजापाठ र मेला भब्य रुपमा संचालन भएको जानकारी प्राप्त भएको छ । बिभिन्न शक्तिपीठहरुमा बिहानैदेखी श्रदालुजनहरुको चहलपहल भैरहेको बताईएको छ ।