दसैं मनाउनु कि गृहकार्य गर्नु

102

असोज १२,
काठमाडौं । कीर्तिपुरस्थित पुष्पसदन विद्यालयमा कक्षा ८ मा पढ्ने विपिन डाँगालाई दसैं बिदाको खुसी त लागेको छ तर गृहकार्यको चिन्ताले पनि उत्तिकै सताएको छ। उनी दसैं बिदामा साथीहरूसँग घुम्न चाहन्छन्। गृहकार्य पनि सकाउनुपर्ने हुनाले रमाइलो गर्न नपाउने पो हुँ कि भन्ने पनि लाग्छ उनलाई। गृहकार्य नगरेमा साथीहरूमाझ अपमानित हुनुपर्ने र विद्यालयको सजायसमेत सहनुपर्ने मानसिक तनाव त्यत्तिकै छ।

दसैं नजिकिँदै छ। स्कुले भाइबहिनीका खुसीका दिन पनि नजिकिँदै छन्। एकोहोरो विद्यालयको दैनिकीदेखि छुटकारा मिल्नेबित्तिकै विद्यार्थीमा खुुसीको रौनक छाएको पाइन्छ। शरीरमा एक किसिमको फूर्ति पनि बढेको छ। कक्षा जति नै सानो भए पनि सकीनसकी झोलाभरि किताब, कापीको भारी र स्कुलको कडा अनुशासनमा बस्नु नपर्ने भएकाले विद्यार्थीमा चाडबाडका बिदाले उत्साह थपिदिएको छ।

अर्काेतिर कतिपय विद्यार्थी लामो बिदा हुँदा पनि खासै खुसी देखिँदैनन्। विद्यालयको नियम र अनुशासनमा बस्नु नपरे पनि बिदाभरिलाई पुग्ने गरी विद्यालयले दिएको गृहकार्यको भारी भने बिदाभरि नै बोकेर डुल्नुपर्ने बाध्यताले उनीहरूलाई सताएको छ।

चाडबाडमा बिदा दिनु भनेको आफ्ना सामाजिक परम्परा, सस्कार, संस्कृति सिक्न सिकाउन र हर्षपूर्वक मनाउनका लागि हो। घरगाउँका अन्य सदस्यले बिनातनाव चाडपर्वमा रमाइलो गरिरहँदा विद्यार्थीले भने गृहकार्य कसरी सक्ने भन्ने तनाव लिनु पक्कै पनि राम्रो होइन।

विद्यार्थीलाई धेरै गृहकार्य दियो भने पढाइमा उत्कृष्ट हुन्छन् भन्ने मान्यता छ। यस्तो मान्यताले बालबालिकालाई बोझ हुने न शिक्षकले बुझ्न सक्छन् न त अभिभावकले नै। अभिभावक पनि व्यस्त हुने हुनाले उनीहरूले नै आफ्ना बच्चालाई धेरै गृहकार्य दिनुपर्ने भन्दै शिक्षकसँग सिफारिस गरिरहेका देखिन्छ।

फेसनको रूपमा गृहकार्य

राराहिल मेमोरियल स्कुलका प्रधानाध्यापक जगतबहादुर महर्जन विद्यार्थीलाई गृहकार्य दिने संस्कार नै बसिसकेको बताउँछन्। गृहकार्य विद्यार्थीलाई भन्दा पनि अभिभावकलाई आवश्यक रहेको बताउँदै उनले भने, ‘विद्यार्थीलाई होमवर्क नदिएमा स्कुलमा अभिभावको गुनासो आउँछ। यसले गर्दा उनीहरूलाई बोझ थपिन्छ।’ आफ्नो विद्यालयमा अहिले ४० प्रतिशत मात्र गृहकार्य दिने गरिएको उनले बताए।

बेबिलोन नेसनल स्कुलका प्रधानाध्यापक राजु राईले गृहकार्य विद्यार्थीलाई पुनस्र्मरण गर्न दिने होइन कि फेसनका रूपमा दिने चलन बढेको प्रस्ट्याए। दसैंमा बालबालिका गाउँ र मामाघर जाने भएकाले उनीहरूलाई यात्रा संस्मरण दिए रमाइलो लाग्ने र बोझ पनि महसुस नगर्ने उनको धारणा छ।

अभिभावकले पनि आफ्ना छोराछोरीलाई व्यस्त राख्न चाहने कारणले गर्दा पनि गृहकार्यको बोझ थपिने बताउँदै उनले भने, ‘बिदा भएको भोलिपल्टै घुँडा धसेर लेख्न लगाउने परम्परा बसेको छ।’

लामो बिदामा बालबालिकालाई रमाइलो अनुभूति हुने खालको गृहकार्य दिनुपर्ने भनाइ शिक्षाविद् विद्यानाथ कोइरालाको छ। ‘विद्यालयमा हरेक संस्कृतिका बालबालिका आउने हुनाले संस्कृतिसम्बन्धी कुरा खोजी गर्न लगाउनुपर्छ। यसो गर्दा बालबालिकालाई अनुसन्धान र रमाइलो खालको गृहकार्य पनि हुन्छ र शिक्षक पनि हरेक संस्कृतिसम्बन्धी कुरामा जानकार हुन्छन्’, उनले भने।

तर, शैक्षिक गुणस्तर परीक्षण केन्द्रको अध्ययनअनुसार गृहकार्य नदिने र परीक्षण नगर्ने विद्यालयका विद्यार्थीको सिकाइ उपलब्धि गृहकार्य दिने र परीक्षण गर्नेको भन्दा नेपाली, गणित र सामाजिक विषयमा क्रमशः ११, ९ र ६ प्रतिशतले न्यून रहेको देखाएको छ। यस्ता अनुसन्धान प्रतिवेदनका कारण पनि विद्यालयले विद्यार्थीलाई गृहकार्य दिने गरेको पाइन्छ।

बोझले निम्त्याउँछ समस्या

विद्यार्थीले कसरी गृहकार्य छिटो सकाउने भन्ने सोचले गर्दा गृहकार्य राम्रोसँग गर्न पनि नसक्ने र दबाब महसुस गर्ने मनोविद् करुणा कुँवरले बताइन्। यसले गर्दा राति ऐँठन हुने, स्कुल जाने समयमा रुने, पेट दुख्ने, दिसा लागेजस्तो हुने र मानसिक समस्या पनि देखा पर्न सक्ने उनले सुनाइन्।

बिदामा ससानो प्रोजेक्ट वर्क, कतै यात्रा गर्दै छन् भने यात्रा संस्मरण, निबन्धजस्ता गृहकार्य दिन सके विद्यार्थीको विकासमा सहयोग पुग्ने उनको सुझाव छ।- annapurnapost.com