Sunday, September 27, 2026
Home पत्रपत्रिका कर्णालीमा चामलभन्दा ढुवानी महँगो

कर्णालीमा चामलभन्दा ढुवानी महँगो

202

कान्तिपुर दैनिक
असोज १०, काठमाडौँ — हुम्ला, सर्केगाड गाउँपालिकास्थित उनापानी गाउँकी ४५ वर्षीया मैनकला रावतले मुगुबाट खाद्यान्न ओसार्न थालेको १५ वर्ष बढी भयो । उनी हिउँद र चाडपर्वको समयमा खच्चड र चौरी ल्याएर ६ दिन हिडेर चार पटक चामल लिन गमगढी आउँछिन् । उनीमात्र होइन, हुम्लाको खाद्य गोदाममा पर्याप्त चामल नपाइने गरेकाले उनापानीका बासिन्दा एक साता लगाएर गमगढी आइ खाद्यान्न ओसार्छन । पर्याप्त चामल नपाउने समस्याले सीमा क्षेत्रका बासिन्दालाई चिनियाँ खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ। ‘गाउँमा चामल पाउन सधैं मुस्किल हुन्छ,’ सिमकोटका राजन बोहोराले भने, ‘सरकारले हामीलाई हवाइ ढुवानीको चामल दिएर वर्षभरिको छापो लगाउनुभन्दा सडक बनाइदिए सस्तोमा चामल किन्न पाउने थियौं।’

उनले ढुवानी रकमबाटै एयरलाइन्सका मालिक झन धनी बने पनि हुम्ली जनतासँग चामल किन्ने पैसा नभएको गुनासो गरे। उनका अनुसार हवाइमार्गबाट ढुवानी भएको चामल हुनेखानेले मात्र खान पाउँछन्।
हवाइमार्गबाट हुम्ला पुगेको उच्च गुणस्तरको ३० किलो चामलको मूल्य ६ हजार रुपैयाँ पर्छ। सुर्खेत र नेपालगन्जबाट ११ हजार ३ सय ९० रुपयाँ प्रतिक्विन्टलका दरले खाद्यान्न ढुवानी हुने गरेको छ। सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा नजोडिँदा डेढ वर्षमा खाद्यान्न ढुवानीमै २० करोड रुपैयाँ सकिएको छ। वर्षभरि चामल ढुवानी गर्न लाग्ने रकमले दुई वर्षमै जिल्लालाई सडक सञ्जालमा जोड्न सकिने बोहरा बताउँछन्। सडक सुविधा नभएकै कारण हुम्लामा वर्सेनि खाद्यान्न अभावको समस्या हुने गरेको छ।