भक्तपुरमा घुस लिएको आरोप लागेका मालपोतका कर्मचारीले आत्महत्या गरे

309
तस्विरः मृतक कर्मचारी रामहरि सुवेदीको फेसबुकबाट

असोज ७,
भक्तपुर । घुस काण्डमा परेका केही कर्मचारीहरुले आत्महत्या गर्न थालेका छन् । एकजनाले त अख्तियार दुूपयोग आयोगका आयुक्तको नाममा पत्र लेखेर जिवन त्यागे । अख्तियारले नियन्त्रणमा लिएर छुटेका तीन जनाले यो भन्दा अगाडी आत्महत्या गरे । सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा एक जनाले आत्महत्या गरे । उनी थिए कंलकीस्थित मालपोत कार्यालयमा खरिदार पदमा कार्यरत रामहरि सुवेदी । सुवेदीको पुरानो घर सुनसरी इनरुवा नगरपालिका–५ घर भएपनि पछिल्लो केही वर्षदेखि कटुन्जेमा बस्दै आएका थिए ।

सोमबार दिउँस करिब २ः ३० तिर ४७ वर्षीका सुवेदीले कटुञ्जेस्थित आफ्नै घरको भ¥याङ्गमा झुण्डिएर आत्महत्या गरे । कलंकी मालपोत कार्यालयमा रहँदा गएको असार महिनामा एक हजार रुपैयाँ लिँदै गरेको सीसी क्यामेराको दृश्यमा कैद भएको स्रोतको भनाई छ । छानबिनको क्रममा अख्तियारले उनलाई साउन २२ गते पक्राउ गरेको थियो । अख्तियारले पक्राउ गरी ४२ दिन थुनामा बसेर भदौ ३१ गते सुवेदी धरौटीमा रिहा भएर घर आएका थिए । भक्तपुर अस्पतालको परिसरमा पुग्दा आक्रोशीत मुद्रामा रहेका सुवेदीका आफन्तको आरोप थियो ‘अख्तियारले पटक—पटक बयान लिँदा मानसिक तनावमा आएर उनले आत्महत्या गरे ।’

अबौं, करोडौँ घुस खानेहरुलाई अख्तियारले केही गर्न नसक्ने तर सेवाग्राहीले खुसी भएर एक हजार रुपैयाँ खाजा दिएको कुरालाई घुस भनेर तनाव दिएको आत्महत्या गर्न बाध्य बनाएको उनका आफन्तको भनाई छ । २०७५ माघ महिनामा सुवेदीको पीताको निधन भएको थियो । मृतक सुवेदीको शव भक्तपुर अस्पतालमा पोस्टमर्टम पछि आजै दाहसंस्कार गरिएको छ । सुवेदीको घरमा वृद्ध आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।