सलमान खानले आफैले आफैलाई किन हाने कोर्रा ? (भिडियो हेर्नुहोस्)

275

एजेन्सी, भदौ १९,
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एउटा भिडियो भाइरल भैरहेको छ । सलमानले आफ्नो इन्स्टाग्राम एकाउन्टमा आफैंले शेयर गरेको भिडियो भाइरल भएको हो । उक्त भिडियोमा सलमान खानले आफैंलाई कोर्राले हिर्काएर पैसा माग्ने समूहसँग कुराकानी गरिरहेको दखिएको छ । सलमानले पहिला उनीहरुले आफैंलाई कोर्रा हानेको हेर्छन् र पछि उनीहरुकै कोर्राले उनले आफैंलाई हिर्काउने प्रयास गर्छन् ।

सलमानले कोर्रा हिर्काइरहेको आवाज कस्तो आइरहेको छ भन्ने कुराको जिज्ञासा पनि राख्छन् । आफैंलाई कोर्रा हानेर पैसा माग्नेहरुले कोर्राको टुप्पोमा बाँधिएको एउटा बस्तुका कारण आवाज आउने बताउँछन् । केहीबेर उनीहरुको कुरा सुनेपछि सलमानले पुनः आफैंलाई कोर्रा हान्ने प्रयास गर्छन् । दोस्रो पटक सलमान खानले आफूले आफैंलाई केही तीव्र गतिमा कोर्रा हान्छन् । यसपटक उनको प्रहार केही कडा हुन्छ । दोस्रो पटक उनले कोर्रा हान्दै पैसा माग्नेहरुले जस्तै कोर्रा प्रहार गर्छन् । सलमानले आफैंलाई कोर्रा हानिरहेको देखेर वरपर राम्रै भिड जम्मा हुन्छ । त्यसक्रममा उनीहरुले ताली बजाएर सलमानलाई उत्साहित बनाउँछन् ।

 

सलमान खानले पैसा माग्नेहरुसँग तस्वीर पनि खिचाउँछन् र उनीहरु सबैप्रति आभार व्यक्त गर्छन् । सलमानले उक्त भिडियोको क्याप्सनमा लेखेका छन्, ‘उनीहरुका भावना र अफ्ठ्यारोलाई आफैंले प्रयोग गर्दा बेग्लै अनुभव हुँदो रहेछ । केटाकेटीहरुले चाहिँ यसलाई घरमा प्रयोग नगर्नु होला ।’ भिडियो सार्वजनिक भएको करिब एक घण्टामै करिब सात लाख पटक हेरिएको छ । उक्त भिडियोले लाइक र कमेन्ट पनि उत्तिकै पाइरहेको छ ।