Sunday, September 27, 2026
Home समाचार रवि लामिछाने जिल्ला अदालतको आदेश बदर माग गर्दै पुगे उच्च अदालत

रवि लामिछाने जिल्ला अदालतको आदेश बदर माग गर्दै पुगे उच्च अदालत

206

भदौ १७,
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न दिएको आदेश बदर माग गर्दै टेलिभिजन प्रस्तोता रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पुगेका छन् । पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालतले लामिछाने ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उक्त आदेश बदरको माग गर्दै लामछिाने र कँडेल मंगलबार उच्च अदालत पाटनको हेटौंडा इजलास पुगेका हुन् ।

लामिछाने र कँडेललाई अघिल्लो सोमबार न्यायाधीश हेमन्त रावलको इजलासले धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछाने र कँडेलले फौजदारी कार्यिवधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन् । उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालत हेटौंडा इजलासले जनाएको छ ।

पुडासैनी न्युज २४ टेलिभिजनमा लामिछानेले चलाउँदै आएको सिधाकुरा जनतासँग भन्ने कार्यक्रमका पूर्वसंवाददाता हुन्। जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। लामिछानेसहित तीन जनालाई पाँच वर्ष जेल र ५० हजार जरिवाना माग गर्दै सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो।