कोरोनाको असरः गौतमबुद्ध विमानस्थल निर्माण नै प्रभावित

596

फागुन ९,
बुटवल । चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको असर भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत परेको छ । विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले गरिरहेको छ । तर कोरोना भाइरसको संक्रमण बढेसंगै चीनबाट दक्ष प्राविधिक जनशक्ति र विमानस्थलमा जडान गर्नुपर्ने उपकरणहरु आउन सकेका छैनन् । जनशक्ति र उपकरण आउन नसक्दा विमानस्थलको काम नराम्ररी प्रभावित भएको आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए ।

टर्मिनल भवनमा ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्टका साथै धावन मार्गमा वत्ति जडान गर्नुपर्ने थियो । ‘कोरोना भाइरसका कारण २० जना चिनियाँ दक्ष जनशक्ति नेपाल आउन सकेका छैनन्’ अधिकारी भन्छन्, ‘टर्मिनल बिल्डिङ र रन वेमा जडान गर्नुपर्ने उपकरण पनि रोकिएका छन् ।’

४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा २० जनाले मात्र काम गरिरहेका छन् । मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथोपटक थपिएको म्यादमा पनि विमानस्थल तयार नहुने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
यसले विमानस्थल निर्माण चौथो पटक थपिएको म्यादभित्र पनि पूरा हुन नसक्ने खतरा बढेको छ । नागरिक उड्डयन प्राधिकरणले पछिल्लो पटक सन् २०२० मार्च ३० सम्मका लागि म्याद थपेको छ । ‘कोरोनाको असरले अप्ठ्यारो अवस्था आयो’ आयोजना प्रमुख अधिकारीले भने, ‘विमानस्थल निर्माणको काम कहिलेसम्म लम्बिन्छ भन्ने कोरोनाको असर कहिलेसम्म रहन्छ भन्नेमा निर्भर हुने भयो ।’

उनका अनुसार ४० जनाको चिनियाँ कामदार टोली फिल्डमा हुनुपर्नेमा २० जनाले मात्र काम गरिरहेका छन् । मार्च पहिलो हप्तासम्म कामदार र उपकरण नआएमा चौथोपटक थपिएको म्यादमा पनि विमानस्थल तयार नहुने अधिकारीले खुलाए ।

सन् २०१८ सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानस्थल निर्माण शुरु भएको थियो । गत वर्ष ४ असारमै आन्तरिक उडान शुरु गर्ने घोषणा संघीय सरकारको नीति तथा कार्यक्रममै गरिएको थियो । चतर काम नसकिएपछि आउँदो बुद्ध पूर्णिमाको अवसरमा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु गर्ने भाका राखिएको छ । तर अब चालू आर्थिक वर्षभित्र विमानस्थल सञ्चालनमा आउने सम्भावना न्यून रहेको आयोजनासम्वद्ध अधिकारीहरु बताँछन् ।

निर्माण अवधि लम्बिँदा लागत पनि बढेको छ । आठ अर्ब ५५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएकोमा लागत बढेर पहिलो चरणमै ११ अर्ब पुग्ने अनुमान गरिएको छ । -onlnekhabar