Saturday, September 19, 2026
Home अर्थ दशैँअघिबाटै कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

दशैँअघिबाटै कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्युत् उत्पादन हुने

217

भदौ ५,
भीमफेदी। कुलेखानी जलविद्युत् तेस्रो आयोजनाले आगामी दशैँअघिबाटै १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ सानोटारस्थित निर्माणाधीन सो आयोजनाबाट १४ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरिने भएको हो । उत्पादन गरिएको सो जलविद्युत् काठमाडौँस्थित केन्द्रीय विद्युत् प्रसारण लाइनमा जोड्ने कार्य सम्पन्न भइसकेको आयोजनाले जनाइएको छ ।

सानोटार विद्युत्गृहमा अहिले बाँकी रहेको काम र तारहरु जडान गर्नुपर्ने भएकाले केही दिनभित्रै चिनियाँ प्राविधिक टोली आइपुगेपछि तत्काल निमार्णकार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि नेपाल विद्युत् प्राधिकरणको उच्च पदाधिकारीहरुसँग समन्वय गर्ने कार्य भइरहेको आयोजना प्रमुख सुवासबाबु मिश्रले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको रु चार अर्ब ५० करोडको लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न हुन लागेको हो । अहिले कुलेखानी प्रथमबाट ६० मेगावाट र कुलेखानी दोस्रोबाट ३२ मेगावाट गरी कूल ९२ मेगावाट नियमित विद्युत् उत्पादन हुँदै आएको छ ।-रासस