एक जना नेपालीको भागमा कती छ विदेशी ऋण ?

91

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख छ । त्यसको आधारमा एक जना नेपालीको भागमा ऋणको भार ६३ हजार ३ सय १० रूपैयाँ पर्न आउँछ देखिन्छ । प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ। २०७८ फागुनसम्म यस्तो ऋण गत आवको भन्दा ६.३९ प्रतिशत बढेको हो।

गत आवमा यस्तो ऋण १७ खर्ब ३७ अर्ब थियो। २०७८ फागुनसम्म सरकारले आन्तरिक ऋणअन्तर्गत २९ अर्ब २५ करोड र बाह्य ऋणअन्तर्गत १३ अर्ब ६६ करोड साँवा भुक्तानी गरेको थियो। त्यस्तै आन्तरिक ऋणको १९ अर्ब ५१ करोड र बाह्य ऋणको ४ अर्ब ५ करोड व्याज भुक्तानी गरेको छ। भुक्तानी गर्न बाँकी ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ छ। सर्वेक्षणअनुसार १८ खर्ब ४८ अर्बमध्ये ८ खर्ब ६३ अर्ब आन्तरिक ऋण हो भने ९ खर्ब ८४ अर्ब बाह्य ऋण हो।