‘आज नदी आसपासकाले विशेष सतर्कता अपनाउनु’

145
सांकेतिक तस्विर

साउन २८,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाले पश्चिम पहाड तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको भन्दै बाढीपहिरोबाट बच्न सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ । आज बिहान २४ घण्टे चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने सम्भावना रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।’

महाशाखाले अगाडि भनेको छ, ‘देशका पश्चिमी पहाडी भूभाग तथा पूर्वी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । जसले गर्दा चुरेबाट बहने नदीमा पानीको बहावमा आकस्मिक वृद्धि हुन सक्ने भएकाले नदी आसपासमा रहनेहरु सतर्क रहनुहोला । यसका साथै सडक यातायातमा पहिरो र भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।’