Sunday, September 27, 2026
Home पत्रपत्रिका कालोपत्रे माग गर्दै फेरि आन्दोलन

कालोपत्रे माग गर्दै फेरि आन्दोलन

200

राजधानी दैनिक
साउन २२, काठमाडौं ।चाबहिलआसपासको सडक विस्तार तथा मर्मतका नाममा सडक भत्काएर लथालिंग छाडेपछि स्थानीय फेरि आन्दोलनमा उत्रिएका छन् । जनप्रतिनिधिको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण आजित बनेका सर्वसाधारण पटक–पटक सडक आन्दोलन गर्न बाध्य बनेका हुन् । निर्माण थालिएको लामो समयसम्म पनि चाबहिल–चुच्चेपाटी खडकखण्डमा कालोपत्रे नभएपछि स्थानीय मंगलबार सडकमा उत्रिए । स्थानीयलगायत व्यवसायीले सडकमै उत्रेर विरोध प्रदर्शन जनाएपछि यातायात अवरुद्धसमेत भए ।

बौद्धबासीले मंगलबार बिहानै सडकमा उत्रिएर ढल निर्माण र कालोपत्रे गर्नुपर्ने माग राख्दै केही घन्टा यातायात अवरुद्ध पारे । जोरपाटी चोकदेखि नारायणटार, दक्षिणढोकादेखि मुलपानी तिवारीडोल र गोकर्ण रिसोर्टदेखि परसम्म पिच गरिए पनि अन्य भागमा सडकको अवस्था लथालिंग छ । नेकपा नेता तथा प्रदेश सांसद रामेश्वर फुया“लले लामो समयसम्म कालोपत्रे नहुँदा सर्वसाधरण सडकमै आएर विरोध जनाउनु सामान्य रहेको बताए । ‘तीनै तहका सरकार विकास निर्माणलाई गति दिन लागिपहेका छन्,’ उनले भने, ‘जग्गाको मुआब्जा वितरण, ठेकेदारको लापरबाही र प्रशासनीय ढिलासुस्तीले विकास निर्माणमा ढिला भएको हो तर हामीले गति लिनेगरी पहल गरिरहेका छौं ।’

सांसद फुया“लले आफू संविधानसभा सदस्य हुँदा ३ असार २०७३ मा चाबहिल, जोरपाटी, सुन्दरीजललगायत क्षेत्रको सडकको टेन्डर गरिए पनि मुआब्जा विवादले समस्या देखिएको बताए । अन्य सडकखण्डमा प्रगति देखिए पनि जोरपाटी–सुन्दरीजल खण्डमा भने १०/१५ प्रतिशत मात्र प्रगति भएको भन्दै उनले जग्गा विवाद र क्षतिपूर्तिकै कारण ढिला भएको दावी गरे । यात, मंगलबार नै चाबहिल–चुच्चेपाटी क्षेत्रका बासिन्दा पनि आन्दोलनमा उत्रिए । यस क्षेत्रमा सडकभर खाल्डाखुल्डी र अव्यवस्थित ढलले यात्रा गर्न कठिन अवस्था सिर्जना भएको छ ।