‘डिस्कोभरी’को चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा प्रधानमन्त्री मोदी देखिएपछि…

194

एजेन्सी, साउन १३,
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कोभरी च्यानलको चर्चित साहसिक कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन्। मोदीले सोमबार प्रस्तोता बियर ग्रेल्सको कार्यक्रमको ट्रेलर ट्वीटरबाट सार्वजनिक गरेका छन्। मोदी सहभागी भएको उक्त कार्यक्रम १२ अगस्टमा बेलुका ९ बजे डिस्कोभरी च्यानलबाट प्रसारण हुने ग्रेल्सले जानकारी दिएका छन्। भारतमा वातावरणको प्रवर्द्धन र पशुपन्छी संरक्षणका लागि मोदी उक्त कार्यक्रममा सहभागी भएको बताइएको छ। ग्रेल्सले आफ्नो ट्वीटरमा लेखेका छन्- विश्वभरिका १ सय ८० देशका मानिसले प्रधानमन्त्री मोदीको नदेखिएको पक्ष देख्नेछन् यसले वातावरणको प्रवर्द्धन तथा पशुपन्छीको संरक्षणमा जनचेतना फैलाउने छ। मोदीले ग्रेल्सलाई भारत आएकोमा धन्यवाद ज्ञापन गरेका छन्। त्यो कार्यक्रम हेरेर भारतका विभिन्न क्षेत्र भ्रमण गर्न पर्यटक आउने मोदीको आशा छ।

मोदीले ट्वीटरमा म्यान भर्सेस वाइल्डको ट्रेलर सार्वजनिक गरेसँगै भारतमा एउटा पुरानो कुरा फेरि चर्चामा आएको छ। यसअघि गत फेब्रुअरी १४ मा भारत प्रशासित कस्मिरमा आतंकवादी हमला भएको थियो। उक्त हमलामा परी ४० भारतीय सुरक्षाकर्मी मारिएका थिए। सोही घटनापछि भारत-पाकिस्तान सम्बन्धमा तिक्तता बढेको थियो। कस्मिरको पुलवामामा उक्त आक्रमण भएको दिन मोदी म्यान भर्सेस वाइल्डको सुटिङमा थिए भन्ने आरोप लागेको थियो। विपक्षी कांग्रेस नेताहरूले आक्रमण भएको घन्टौंसम्म पनि प्रधानमन्त्री मोदी सुटिङमा व्यस्त भएको आरोप लगाएका थिए। अहिले ट्रेलर आउँदा मोदी त्यो दिन सुटिङमै थिए भन्ने कुरामा बल पुगेको छ।

कार्यक्रम प्रस्तोता ग्रेल्सले जनवरी २६ मा भारतमा कार्यक्रम सुटिङ हुन लागेको जानकारी ट्वीटरमा दिएका थिए भने फेब्रुअरीमा १२ मा उनले भारत आउन प्लेन चढेको सेल्फी पोष्ट गरेका थिए। पछि यी दुबै ट्वीट हटाइएको थियो। सत्तारूढ भारतीय जनता पार्टीले भने त्यो दिन मोदी कार्यक्रमको सुटिङमा थिए भन्ने कुरालाई अस्वीकार गरेको छ। कार्यक्रमको सुटिङ बिहान सकिएको र आक्रमणका बेला प्रधानमन्त्री फर्किसकेको भाजपाको दाबी छ।