श्रीलंकामा अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध

101

एजेन्सी, वैशाख १६
काठमाडौं । श्रीलंकामा सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाइएको छ। गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनमा २ सय ५० भन्दा बढी व्यक्तिको ज्यान गएपछि श्रीलंकाले अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो।

अधिकारीहरूको निर्णयानुसार अब कसैले पनि अनुहार छोपिने र पहिचानमा अवरोध हुने खालका पहिरन लगाउन पाउनेछैनन्। श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपयाहरू अपनाइएको बताएका छन्। शृङ्खलाबद्ध आत्मघाती बम विस्फोटन हुनुभन्दा अघि पनि श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको थियो।

एप्रिल २१ को घटनापछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग अझ प्रबल बनेको थियो। इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो। उक्त घटना त्यहाँको अतिवादी इस्लामिक समूह न्याश्नल तौहिद जमातले गराएको सरकारको दाबी छ। घटनापछि उक्त समूहका गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाइसकेको छ। यसैबीच शृङ्खलाबद्ध बम विस्फोटका मुख्य अभियुक्त जहरान हासिमका बाबु र दुईजना भाइको सुरक्षा कारबाहीमा मृत्यु भएको छ। -बिबिसी