एकै वर्ष विदेश पढ्न जान्छन् ६३ हजार

144

नेपाल समाचारपत्र
साउन ३, काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर (एनओसीं) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको छ ।

अष्ट्रेलियामा अध्ययनसंँगै रोजगारीको अवसर पाउने भएपछि विद्यार्थीको संख्या बढेको शाखाले जनाएको छ । अष्ट्रेलियामा तुलनात्मक रुपमा सजिलै भिषा पाउने भएपछि त्यहाँ जानेको संख्या बढ्न थालेको शाखा प्रमुख महेश्वर शर्माले बताउनुभयो । शर्माका अनुसार गएको आर्थिक वर्ष अर्थात असार मसान्तसम्म करिब ६३ मुलुक अध्ययन गर्न जान विद्यार्थीले एनओसी लिएका छन् । उहाँका अनुसार विदेश अध्ययन गर्न एनओसी लिने दोस्रो मुलुक जापान हो । गएको आर्थिक वर्षमा ८ हजार ५ सय २३ जना विद्यार्थीले जापानको लागि एनओसी लिएका छन् । त्यस्तै कोरिया, अमेरिका,क्यानडा,बेलायत, स्वीजरल्याण्ड, इटाली,चीन,थाइल्याण्ड,जर्मन, फ्रान्स लगायत मुलुकका लागि एनओसी लिने विद्यार्थीको संख्या बढ्दो रहेको छ । पछिल्लो समय अमेरिका र बेलायतले भिषा प्रणालीमा कडाइ गरेपछि त्यहाँ विद्यार्थीको जाने क्रम घट्दै गएको छ ।