Wednesday, September 23, 2026
Home पत्रपत्रिका राउटे भेट्न टिकट !

राउटे भेट्न टिकट !

639

ललितबहादुर बुढा ( अन्नपूर्ण पोष्ट)

जेठ २४, सुर्खेत । बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। योे समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौं। राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ। टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ।

हाल राउटे बस्तीमा सहयोगका नाममा पुग्नेको लर्को लाग्ने गरेको छ। टिकट शुल्कबारे भने छलफल भइरहेको अध्यक्ष वलीले बताए। राउटे समुदाय बस्दै आएको वडा नम्बर ५ का वडाध्यक्ष सुरेन्द्रकुमार महताराले भने, ‘राउटे समुदाय पर्यटनको मुख्य आकर्षण पनि हो। राउटेको अवलोकन गर्न दिनहुँ मानिसको लर्को लाग्ने गरेको छ।’ टिकटबाट संकलित रकम राउटेकै शिक्षा, स्वास्थ्य र संस्कृति संरक्षणमा खर्च गरिने उनले बताए।