लेबनानबाट शान्ति सेना उद्धार गर्ने राष्ट्रसंघको तयारी

19

काठमाडौं । काठमाडौँ — इजरायल र लेबनानको लडाकु समूह हेजबुल्लाहबीच द्वन्द्व बढेपछि लेबनानमा कार्यरत शान्ति सैनिकलाई उद्धार गर्न संयुक्त राष्ट्रसंघ ९यूएन० ले रणनीति तयार गरेको छ । लेबनानमा नेपालसहित विभिन्न देशका शान्ति सैनिक यूएन मिसनमा कार्यरत छन् । उनीहरूको सुरक्षामा चुनौती बढेपछि यूएनले आवश्यक पर्दा उद्धार गर्ने रणनीति तयार गरिसकेको नेपाली सेनाले जनाएको हो । रक्षा मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले लेबनानको सुरक्षा चुनौती बुझेर यूएनले योजना बनाइसकेको बताए । ‘नेपाली शान्ति सुरक्षा फौजले त्यसअनुसार गृहकार्य गरेको छ । अहिले नै केही हुन्छ भन्ने त होइन । तर तलमाथि भए के गर्ने र कता जाने भन्ने योजना बनाइसकेका छौं । परिस्थिति हेरेर सुरक्षित स्थानमा जान पनि सक्छौं,’ उनले भने ।

युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान ९युनिफिल० मा अहिले नेपालसहित ४८ देशका १० हजारभन्दा बढी शान्ति सैनिक कार्यरत छन् । युनिफिलमा नेपालबाट मात्रै ८ सय ७७ शान्ति सैनिक कार्यरत छन् । उनीहरूले इजरायल र लेबनानबीचको सीमा क्षेत्रको ‘ब्लु लाइन’ वरपर रहेर शान्ति स्थापनाको काम गरिरहेका छन् । तर इजरायल र हेजबुल्लाहबीच द्वन्द्व चर्किएपछि ‘ब्लु लाइन’ मा केही मुलुकका सैनिक घाइतेसमेत भएकाले शान्ति सैनिकहरूको सुरक्षा चुनौती बढेको हो ।

इजरायलले बुधबार युनिफिलको मुख्यालय नाकुरा नजिकैको टियर सहरमा आक्रमण गरेको थियो । आक्रमणमा परी दुई जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम जनाएका छन् । सिरियाको सीमा नजिकको टियर युनिफिलको मुख्यालय नाकुराबाट करिब २१ किलोमिटरको दूरीमा छ । ‘ब्लु लाइन’ क्षेत्रसहित लेबनानका अन्य भागमा समेत इजरायली सेना र हेजबुल्लाहबीच द्वन्द्व बढेपछि शान्ति सैनिकको सुरक्षालाई लिएर यूएन चिन्तित बनेको हो ।

यो खबर आजको कान्तिपुर दैनिकमा छ