पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् प्रकृति
भैरहवा । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको पढाइ डेढ वर्षमा सकिँदै थियो । रूपन्देहीको सिद्धार्थनगर–८ बैंक कोलोनीकी प्रकृतिले डेढ साताअघि आमा सरुसँगको फोन संवादमा पढाइ सकेपछि राम्रो कमाइ हुने भएकाले बुबालाई कार ‘सरप्राइज’ दिने बताएकी थिइन् । छोरीको रहर सरुले श्रीमान् सुनिललाई नसुनाई बस्न सकिनन् । ‘छोरीले कमाएको पैसाले तपाईंलाई कार सरप्राइज दिने रे,’ उनले त्यसै दिन सुनिललाई सुनाएकी थिइन् । तर, १० दिन पुग्दा नपुग्दै विश्वविद्यालयको होस्टेलमा प्रकृति मृत फेला परिन् ।
डेढ महिनाअघि घर आउँदा होस् वा आमासँग बुबालाई कार ‘सरप्राइज’ दिने रहर सुनाउँदा, प्रकृतिले आफूभित्रको पीडाको ज्वारभाटा दबाएर बसेकी थिइन् । घटनाको दिन फागुन ४ (आइतबार आमासँग कुरा गर्दा पनि तनावको संकेत दिएकी थिइनन् । ‘दिउसो २ बजेर ५१ मिनेटमा कुरा भएको थियो । कलेजमा फेस्टिभल चलिरहेको छ, कलाकार बादशाह आउँछन् भनेकी थिइन्,’ सरुले भनिन्, ‘अब ४ बजे जाने हो, रेडी हुन्छु भनेर कुरा टुंगिएको थियो ।’
आमासँग कुरा भएको तीन घण्टामै एउटै कक्षामा पढ्ने प्रकृतिका भाइ (सरुकी दिदीका छोरा) अनुरोध खनालले ‘यहाँ खै के भयो, तपाईं छिट्टै आउनुस्,’ भनेर अपूरो खबर सुनाई फोन काटे । उनले आत्तिँदै श्रीमान् सुनिललाई बताइन् । ‘उताबाट अनुरोधले रुँदै छिटो आउनुस् मात्र भनेपछि मनमा चिसो पस्यो,’ सुनिलले भने, ‘केही नराम्रो नै भयो भन्ने लाग्यो ।’ विश्वविद्यालयमा फोन गरेर बुझेपछि तीन साथी लिएर आफू ओडिसाका लागि हिँडेको सुनिलले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।













