नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको सेयर बिक्री गर्दै

71

असार ३१,
काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जमा गरेको लगानी बिक्री गर्ने भएको छ । नेप्सेमा रहेको आफ्नो सेयर स्वामित्व बिक्री गर्न राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरेर जनाएको छ । नेप्सेमा राष्ट्र बैंकको १७ लाख २९ हजार ९ सय ८९ कित्ता सेयर लगानी रहेको थियो । प्रतिकित्ता १ हजार ३२ रुपैयाँ न्यूनतम मूल्य तोक्दै राष्ट्र बैंकले बोलकबोलमार्फत आफ्नो सेयर बिक्री गर्न खोजेको हो ।

उक्त सेयर बैंक तथा वित्तीय संस्था, धित्रोपत्र व्यवसायीका सँगै सुचीकृत संगठित संस्थाले आवेदन दिन पाउने उल्लेख गरिएको छ । सूचनामा जनाइए अनुसार भदौ २ गतेसम्म आवेदन दिन मिल्ने छ भने भदौ ४ गते बोलपत्र खुला गरिनेछ । नेप्सेमा सबैभन्दा धेरै लगानी नेपाल सरकारको रहेको छ । नेपाल सरकारपछि सबैभन्दा ठूलो लगानी भएको राष्ट्र बैंकले आफ्नो लगानी बिक्री गर्न लागेको हो । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर लगानी रहेको छ भने राष्ट्र बैंकको ३४.६० प्रतिशत लगानी रहेको छ । त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत लगानी रहेको नेप्सेमा सेयर ब्रोकहरुको १ प्रतिशतभन्दा कम लगानी रहेको छ ।