बाढीपहिरो र डुबान पीडितलाई भेट्न देउवा मधेश जाने

68

असार ३१,
काठमाडौं । बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत वितरणका लागि केन्द्रीय समिति बैठक स्थगित गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मधेश झर्ने भएका छन्। बाढीपहिरो र डुबानमा परेकाहरूको अवस्थाबारे बुझ्न सभापति देउवा बुधबार तराईका विभिन्न जिल्ला जाने तयारी गरेका छन्।

कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार देउवा हेलिकप्टर चढेर जाने तयारी गरे पनि सडकमार्गबाट जाने कि हवाइ मार्गबाट भन्ने यकिन भइसकेको छैन।कांग्रेसका उपसभापति विमलेन्द्र निधि भने मंगलबार मधेश जाँदैछन्। सभापति देउवाले सोमबार विज्ञप्ति निकालेर बाढीपहिरो र डुबान पीडितको उद्धार राहत वितरण सरकारका तर्फबाट व्यवस्थित भए/नभएको कांग्रेसले अनुगमन गर्ने बताएका थिए।

कांग्रेसको भातृ संगठन नेविसंघले डुबान पीडितका लागि सहयोग गर्न सहयोग सामग्री, रकम संकलन गरिराखेको छ भने संघीय संसदका दुवै सदनमा प्रतिनिधित्व गर्ने कांग्रेस सांसदले पाँच दिनको पारिश्रमिक डुबान पीडितलाई दिने निर्णय कांग्रेस संसदीय दलले गरिसकेको छ।