Saturday, September 26, 2026
Home अपराध नक्कली प्रमाणपत्र बनाउने दुई जना पक्राउ

नक्कली प्रमाणपत्र बनाउने दुई जना पक्राउ

177

असार ६,
चितवन। विद्यालय तथा क्याम्पसको नक्कली शैक्षिक तथा चारित्रिक प्रमाणपत्र (सर्टिफिकेट) बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–६ बस्ने १९ वर्षीय बेदप्रसाद पराजुली र ३३ वर्षीय सुदीप पौडेल रहेका छन् ।

भरतपुर महानगरपालिका–७ बुद्धचोकमा सञ्चालन गरेको विन्दु फोटो एण्ड भिडियो पसलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरुले सो पसलबाट विद्यालय तथा क्याम्पसहरुको नक्कली लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र बनाउने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले पराजुली र पौडेललाई बिहीबार पक्राउ गरेको हो ।

नक्कली प्रमाणपत्र बनाउन प्रयोग गरिने एक थान कम्प्युटर र तीन थान प्रिन्टरसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखितसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-रासस