मोतीराम तिमल्सिना ( नेपाल समाचारपत्र)
जेठ २९, काभ्रे । मालपोत कार्यालय काभ्रेपलाञ्चोकमा मंगलबार दिनभर सुरक्षाका लागि खटिएका ‘पालेदाइ’ लालपुर्जा बनाउने र ‘पियनभाइ’ मोठ श्रेस्ता भिडाउने कार्यमा खटेका देखिए । ‘कानुनत यो जिम्मेवारी दिनु गलत हो, जनशक्ति अभावका कारण हामी बाध्य छौं’–मालपोत कार्यालय काभ्रेका प्रमुख मालपोत अधिकृत ध्रुर्व्रप्रसाद कोइरालाले लाचारी देखाउनु भयो– तर, यसको सम्पूर्ण जिम्मेवारी म लिन्छु । मालपोत कार्यालयमा कर्मचारीको अभाव चाहिं निकै चर्को नै देखियो । कर्मचारी नभएको कारण देखाउँदै शुक्रबार, आइतबार र सोमबारको राजस्व जम्मा नभएपछि मंगलबार भएको छड्के जाँचमा आठ कर्मचारी अनुपस्थित देखिए । कर्मचारी अभावकै कारण सुरक्षा गार्ड र कार्यालय सहायक ‘हाकिम’ को जिममेवारी पूरा गर्न बाध्य थिए ।
छड्के जाँचका लागि विभागबाट आएका कर्मचारीले बैंक दाखिला गर्नबाँकी १ करोड २६ लाख ४४ हजार २ सय ७९ रुपियाँ भएको पाए, जो कानुनतः आपत्तिजनक हो ।
राजस्व संकलन अनियमित भएको सूचना प्राप्त भएपछि शाखा अधिकृत टीकाराम निरौला र एकनारायण अर्यालको टोली विभागबाट छड्के अनुगमनमा आएको थियो । कोइरालाले भन्नुभयो– ८ जना कर्मचारी अनुपस्थित देखिए, १ बजेसम्मको विदा मिलाएर काममा फर्कायौं । ४५ जना दरवन्दीमा १६ व्यक्ति अझै मालपोतमा छैनन् ।











