Friday, October 2, 2026
Home पत्रपत्रिका ‘कोरोनालाई हल्का नलिऔं’

‘कोरोनालाई हल्का नलिऔं’

68

संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘यो भाइरस केही होइन भन्नेहरु एकपल्ट आइसोलेसनका बिरामीहरुको हालत हेर्नुहोला’
‘२१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेको छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।’
भदौं २३,

बर्दिया, बुटवल — ‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।

‘अफवाह फैलाइएजस्तो कोरोना कमजोर भाइरस होइन, यसले ज्यानै पनि लिन सक्छ,’ उपचारमा खटिने क्रममा संक्रमित भएका भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संकेत रिसालले भने, ‘भाइरसको आक्रमण मैले झेलें । यो चानचुने होइन रहेछ ।’ कोरोना संक्रमितहरूको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासि उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । ल्याबले कोरोना संक्रमण पुष्टि गर्‍यो । तीन दिनसम्म ज्वरोले छोडेन । जिब्रोमा बिबिरा आए । शरीर दुखेर काँठियो । श्वास लिन समस्या भयो । दुई साताको पीडापछि उनी संक्रमणमुक्त भई फेरि संक्रमितहरूको उपचारमा खटिएका छन् ।

अस्पतालकै आइसोलेसनमा १४ दिन बसेका उनी गत शनिबार कोरोना जित्न सफल भएका हुन् । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन । सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा। रिसालले भने, ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाइ छ ।

कोरोना भाइरस कम लोड हुँदा केही व्यक्तिमा त्यसको लक्षण नदेखिन सक्छ तर लक्षण देखिएका संक्रमितको अवस्था जटिल हुन सक्छ । भेरी अस्पतालमा उपचार भइरहेका तीन संक्रमितको अवस्था गम्भीर छ । डा। संकेतसँगै भेरी अस्पतालमै कार्यरत उनकी श्रीमती डा। उर्मिला रिसाललाई पनि कोरोना संक्रमण देखिएको थियो । ‘रोगलाई पनि हामीले मजाकमा लिन थालेपछि अवस्था गम्भीर बन्दै गएको हो,’ उनले भने ।

कोरोना संक्रमितहरूको उपचारमा खटिँदै आएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिकल विभाग प्रमुख फिजिसियन डा। राजन पाण्डे पनि संक्रमित भए । १४ दिनको आइसोलेसन बसाइपछि शनिबार उनी निको भएर उपचारमा खटिएका छन् । उनका अनुसार कोरोना भाइरसबारे समुदायमा गलत सन्देश प्रवाह हुँदा सर्वसाधारणले सतर्कता अपनाउन छोडेका हुन् । ‘विश्वका विकसित मुलुकहरू कोरोनाको महामारीले आक्रान्त बनेका छन् तर हामीकहाँ सबैजसो आफैं डाक्टर भएर कोरोनाबारे आफ्नो धारणा राखिरहेका छन्,’ उनले कान्तिपुरसँग भने । ‘स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने काम हामीले गरिरहेका छौं । यसले कोरोनाको महामारीलाई थप मलजल पुगिरहेको छ,’ उनले भने । आजको कान्तिपुर दैनिकबाट