‘कोरोनालाई हल्का नलिऔं’

56

संक्रमणमुक्त चिकित्सक भन्छन्– ‘यो भाइरस केही होइन भन्नेहरु एकपल्ट आइसोलेसनका बिरामीहरुको हालत हेर्नुहोला’
‘२१ दिनको संघर्षपछि भदौ १९ मा डिस्चार्ज भएको हुँ । अहिले घरमै आराम गरिरहेको छु । कोरोनालाई सामान्य नठान्नूस् । म भाग्यवश बाँचेर आएँ । यस्तो अवसर सबैलाई नमिल्न सक्छ ।’
भदौं २३,

बर्दिया, बुटवल — ‘कोरोना केही होइन । सामान्य रुघाखोकीजस्तै हो । औषधि पनि खानु पर्दैन । त्यसै ठीक हुन्छ ।’ १४ दिन आइसोलेसन बसाइपछि घर फर्किएका अधिकांशले सामाजिक सञ्जालमा पोस्ट गर्ने यस्ता सन्देशले सर्वसाधारणमा भ्रम सिर्जना गरेको संक्रमणमुक्त भएका चिकित्सकहरूले बताएका छन् । यस्तो सन्देशले कोरोनाविरुद्ध अपनाउनुपर्ने सतर्कतामा पनि कमी आएको उनीहरूको बुझाइ छ ।

‘अफवाह फैलाइएजस्तो कोरोना कमजोर भाइरस होइन, यसले ज्यानै पनि लिन सक्छ,’ उपचारमा खटिने क्रममा संक्रमित भएका भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति फिजिसियन डा. संकेत रिसालले भने, ‘भाइरसको आक्रमण मैले झेलें । यो चानचुने होइन रहेछ ।’ कोरोना संक्रमितहरूको उपचारमा खटिएका उनलाई दुई साताअघि एक्कासि उच्च ज्वरोले च्याप्यो । सहनै नसक्ने गरी टाउको दुख्यो । ज्वरो नियन्त्रण नभएपछि पीसीआर परीक्षण गराए । ल्याबले कोरोना संक्रमण पुष्टि गर्‍यो । तीन दिनसम्म ज्वरोले छोडेन । जिब्रोमा बिबिरा आए । शरीर दुखेर काँठियो । श्वास लिन समस्या भयो । दुई साताको पीडापछि उनी संक्रमणमुक्त भई फेरि संक्रमितहरूको उपचारमा खटिएका छन् ।

अस्पतालकै आइसोलेसनमा १४ दिन बसेका उनी गत शनिबार कोरोना जित्न सफल भएका हुन् । ‘मान्छेहरू अझै पनि कोरोना भाइरसको संक्रमणलाई मजाकका रूपमा लिइरहेका छन् । यो सामान्य हुँदै होइन । सबै गम्भीर बनेमात्रै कोरोनासँग लड्न सकिन्छ,’ डा। रिसालले भने, ‘आइसोलेसनबाट फर्किएपछि कोरोनाविरुद्ध अफवाह फैलाउने काम भइरहेको छ । यसले आममानिसलाई गलत सन्देश दिइरहेको छ ।’ खासगरी लक्षण नदेखिएका संक्रमितबाट गलत सन्देश प्रवाह भइरहेको उनको बुझाइ छ ।

कोरोना भाइरस कम लोड हुँदा केही व्यक्तिमा त्यसको लक्षण नदेखिन सक्छ तर लक्षण देखिएका संक्रमितको अवस्था जटिल हुन सक्छ । भेरी अस्पतालमा उपचार भइरहेका तीन संक्रमितको अवस्था गम्भीर छ । डा। संकेतसँगै भेरी अस्पतालमै कार्यरत उनकी श्रीमती डा। उर्मिला रिसाललाई पनि कोरोना संक्रमण देखिएको थियो । ‘रोगलाई पनि हामीले मजाकमा लिन थालेपछि अवस्था गम्भीर बन्दै गएको हो,’ उनले भने ।

कोरोना संक्रमितहरूको उपचारमा खटिँदै आएका भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट तथा मेडिकल विभाग प्रमुख फिजिसियन डा। राजन पाण्डे पनि संक्रमित भए । १४ दिनको आइसोलेसन बसाइपछि शनिबार उनी निको भएर उपचारमा खटिएका छन् । उनका अनुसार कोरोना भाइरसबारे समुदायमा गलत सन्देश प्रवाह हुँदा सर्वसाधारणले सतर्कता अपनाउन छोडेका हुन् । ‘विश्वका विकसित मुलुकहरू कोरोनाको महामारीले आक्रान्त बनेका छन् तर हामीकहाँ सबैजसो आफैं डाक्टर भएर कोरोनाबारे आफ्नो धारणा राखिरहेका छन्,’ उनले कान्तिपुरसँग भने । ‘स्वास्थ्य मन्त्रालयले घोषणा गर्ने काम हामीले गरिरहेका छौं । यसले कोरोनाको महामारीलाई थप मलजल पुगिरहेको छ,’ उनले भने । आजको कान्तिपुर दैनिकबाट