नेपाल लाइफको सदावहार जीवन बीमा योजना

67

जेठ २६,
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ सार्वजनिक गरेको छ। यसअघि कम्पनीले ‘घातक रोग सुविधा योजना’ नामको योजना ल्याएको थियो। कम्पनीले आजैदेखि लागू हुने गरी ‘सदावहार जीवनका लागि सदावहार जीवन बीमा योजना’ भन्ने नाराका साथ नयाँ स्किम ल्याएको हो। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेण्टहरूको उपस्थितिमा नयाँ बीमा योजना सार्वजनिक गरेको हो। कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले यो योजनामा प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले हुन आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी हुने बताए।

साथै आजीवन जोखिम बहन गर्नु र बीमा अवधिपश्चात पनि समर्पण मूल्य प्राप्त गर्न, यस योजनाको मुख्य विशेषता रहेको उनले बताए। कम्पनीका अनुसार यो योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ। तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने कम्पनीले जनाएको छ। बीमालेख खरिदका लागि न्यूनतम उमेर ११ वर्ष र अधिकतम उनेर ६५ वर्ष तोकिएको छ। यसमा ऐच्छिक सुविधा प्रवेश उमेरको व्यवस्था पनि गरिएको छ। दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा लिनका लागि १६ वर्ष र घातक रोग सुविधा लिनका लागि १८ वर्ष उमेर तोकिएको छ।

बीमा शुल्क भुक्तानी अवधि न्यूनतम ५ वर्ष र अधिकतम २० वर्ष रहेको योजनाको बीमा शुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर ७० वर्ष रहेको छ। बीमाशुल्क भुक्तानी एकल, वार्षिक, अर्ध–वार्षिक, त्रैमासिक र मासिक तरिकाले गर्न सकिने कम्पनीले जनाएको छ। बीमालेख चालू भएको अवस्थामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमालेखअन्तर्गत पूरा बीमाङ्क रकम र नियमानुसारको बोनस रकम एकमुष्ट प्रदान गरिनेछ। यसमा बीमितलाई प्रत्येक वर्ष ५ प्रतिशतका दरले आशिंक भुक्तानी गरेको रकम कट्टा नगरिने कम्पनीले जनाएको छ।

एकल बीमाशुल्क योजनामा बीमाशुल्क भुक्तानी अवधिभित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनस वा एकल बीमाशुल्क रकममध्ये बढी हुने रकम बीमितले इच्छाइएको व्यक्तिलाई भुक्तानी गरिन्छ। सबै किस्ता बीमाशुल्क भुक्तानी गरेको बीमालेखमा बीमा अविध समाप्तिपश्चात् जीवनभर कुनै पनि समयमा बीमितको मृत्यु भएमा पुनः बीमाङ्क बराबरको रकम प्रदान गरिनेछ।

यस योजनामा बीमा प्रारम्भ भएको मितिले १ वर्षपछि २ वर्षको पूरा बीमाशुल्क भुक्तानी गरेपछि बीमालेखको चुक्ता मूल्य तथा समर्पण मूल्य प्राप्त हुनेछ। साथै, एकल बीमाशुल्क योजनामा बीमा प्रारम्भ भएको मितिले १३औं महिनादेखि बीमालेखको समर्पण मूल्य प्राप्त हुनेछ। समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ। करिब ३२ प्रतिशत बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक पाँ अर्ब ४९ करोड ९६ लाख रुपैयाँ छ।