गुठी विधेयकविरुद्ध माइतीघरमा प्रदर्शन, केही प्रदर्शनकारी घाइते

227
Photo Kantipur

जेठ २६,
काठमाडौँ । सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीबीच झडप भएको छ । उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।प्रहरीले प्रदर्शनकारीलाई हटाउनका लागि पानीको फोहरासहितको बल प्रयोग गरेको छ। प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन्। विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ। मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन्। परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ।