स्मृति इरानी पुगिन् सहयोगीको पार्थिव शरीर बोकेर घाटसम्म

69

एजेन्सी, जेठ १३,
काठमाडौँ । भारतीय जनता पार्टीकी नेतृ स्मृति इरानीले आफ्नो सहयोगीको पार्थिव शरीर काँधमा बोकेर घाट पुगेकी छन् । अमेठी निर्वाचन क्षेत्रका सहयोगी सुरेन्द्र सिंहको पार्थिव शरीर बोकेर अन्त्येष्टिका लागि घाटसम्म पुगेकी हुन् । सुरेन्द्र सिंहको गत शनिबार चार जना हतियारधारीले गोली हानेर हत्या गरेका थिए । सुरेन्द्रको पार्थिव शरीर बोकेर भारतको केन्द्रीय मन्त्री स्मृति इरानी एक किलोमिटर टाढा घाटसम्म पुगेकी थिइन् । उनले सुरेन्द्रको हत्यामा संलग्नलाई पक्राउ गरी फाँसीको सजायँ दिलाएरै छाड्ने दृढता व्यक्त गरेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

प्रहरीले सुरेन्द्रको हत्याको अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरिसकेको छ । स्मृति इरानीले पार्थिव शरीरलाई बोकेको तस्वीर सामाजिक सन्जालमा भाइरल भइरहेको छ । सुरेन्द्रले अमेठी निर्वाचन क्षेत्रमा स्मृति इरानीलाई चुनावमा सघाएका थिए । सो क्षेत्रबाट कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर उनी लोकसभामा निर्वाचित भएकी छन् । अमेठीमा गान्धी परिवारको गढ भत्काउन सुरेन्द्रको पनि योगदान रहेको बताइन्छ । स्मृति इरानीले सुरेन्द्रकी पत्नीलाई पनि भेटेकी छन् र उनका बच्चालाई आफ्नो बच्चाजस्तै हेरबिचार गर्ने प्रतिवद्धता पनि जनाएकी छन् ।