जेठ १३, कान्तिपुर दैनिक ।
पोखरा — घटना १– शरणार्थी बताउँदै वर्षौंदेखि लेकसाइडमा बस्दै आएका जर्मन नागरिक लुजिफर प्लेज पक्राउ परे । भिसालगायत ट्राभल्स कागजात नभएका उनले सर्वसाधारणलाई धम्क्याउने, गालीगलौज गर्ने र मागेर गुजारा चलाउँदै आएका थिए ।
घटना २– फेवातालपारिको अनदुगाउँमा होटल चलाउँदै आएका जर्मनीका म्यानफ्रेड अगस्ट न्युमानलाई प्रहरीले पक्राउ गरेपछि उनी सन् २०१२ अगस्ट १५ देखि बिनाभिसा बस्दै आएको खुल्यो । न उनीसँग बिजनेस भिसा थियो, न त होटल सञ्चालन इजाजत ।
घटना ३– लेवनानका अलि स्लेमान सन् २०१६ नोभेम्बर ११ मा नेपाल भित्रिए । साथमा दुई छोरी म्यारियम रहम स्लेमान र फत्मा अल जहरा पनि थिए । सन् २०१७ मे ३० देखि भिसा सकिए पनि उनीहरू फेवाताल सिरानको खपौंदी क्षेत्रमा लुकीछिपी बस्दै आएका भेटिए ।
घटना ४– फ्रान्सेली नागरिक डिमिट्री ओगाले स्वीट्जरल्यान्डको नितिडा फाउन्डेसनको प्रतिनिधि भन्दै पोखरा आसपासका विद्यालयमा पुगेर परिचय दिन्थे । सहयोग गर्न आएको भन्दै तस्बिर खिच्थे । प्रहरीले सोधखोज गर्दा खुल्यो, उनीसँग कुनै पनि वैधानिक कागजात रहेनछ ।
सन् २०१७ मा नेपाल प्रवेश गरेका टर्कीका ओस्मान फिरात कोर्टमाज बेगनास ताल किनारको जंगलमा टेन्ट हालेर बस्दै आएका थिए । उनीसँग कुनै पनि वैधानिक कागजात थिएन । उनको साथमा एउटा चक्कु पनि भेटिएकाले चोरीमा संलग्न हुनसक्ने प्रहरीको अनुमान छ । केन्याका केल्भिन ओचेङ नुदीविरुद्ध काठमाडौं र पोखराका विभिन्न होटलमा खाना खाएर पैसा नतिरी भाग्ने गरेको आरोप थियो । त्यसैले गर्दा उनी पोखरामा समातिए । पक्राउपछि खुल्यो, उनको नेपालबसाइँको भिसा अवधि सकिएको थियो ।
पर्यटक भिसामा आएका विदेशी नागरिकहरू बसाइँ अवधि सकिए पनि नेपालमा के कसरी ‘ओभरस्टे’ गर्दा रहेछन् भन्ने माथिका उदाहरणले पुष्टि हुन्छ । पर्यटकीय सहर पोखरा र आसपासका क्षेत्रमा पर्यटकीय गतिविधि बढ्दै जाँदा गैरकानुनी रूपमा बस्ने पर्यटकको संख्या पनि उल्लेख्य रहेको सहजै अनुमान गर्न सकिन्छ ।
अध्यागमन विभाग, स्थानीय प्रशासन र प्रहरीले प्रभावकारी अनुगमन नगर्दा अवैध पर्यटक बस्दै आएका छन् । नेपाल भित्रिने पर्यटक कहाँ गएर के गर्छन् र कहिले फर्कन्छन् भन्ने जानकारीका लागि कुनै अध्यागमनको संयन्त्रले अद्यावधिक नगर्दा यस्तो समस्या बढेको हो । विभिन्न शंकाका आधारमासमातिएका विदेशीको संख्या ठूलो छ ।











