भक्तपुरमा मिलोमतोमा अवैध स्थानको पार्किङ्ग शुल्क उठाइदैं

318

बैशाख २३,
भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ जगातीमा रहेको यातायात व्यवस्था कार्यालय अगाडी रहेको अरनिको राजमार्गको सर्भिस ट्याक्रमा पाकिंङ्ग शुल्क उठाइदैं आएको छ । सवारी चालक अनुमतीपत्र प्रदान गर्ने यस कार्यालयमा दैनिक हजारौं सेवाग्राही सेवा लिन आउने गरेका छन् । धेरै जनाको भिड् हुने यो कार्यालयमा सेवा लिन आउनेले सडकको दायाँ बायाँ पार्किङ्ग गरेका सवारी साधनबाट टोल सुधार समितिको नामबाट पैसा असुल गरिन्छ । जगाती आर्दश टोल विकास नाम रहेको संस्थाले अवैध रुपमा पार्किङ शूल्क उदाउदै आएको हो । रसिदमा संस्थाको दर्ता नम्बर समेत खुलाईएको छैन् ।

उक्त संस्थाले मोटरसाइकलको १०, कार र जिपको २५ र बस र ट्रकको ५० रुपैया शूल्क उठाउदै आएको छ । तर यातायात व्यवस्था कार्यालयले भने कुनै पार्किङ शूल्क नउठाएको बताएको छ । जगातीमा रहेको यातायात व्यवस्था कार्यालय अगाडी अवैध रुपमा वाटो मै सवारी साधन पार्किङ गरेको शूल्क लिइदैँ आएको भएपनि कार्यालय प्रमुख किरण ढकालले भने त्यसबारेमा चासो दिएको देखिदैंन् । ढकाललाई यसबारे जिज्ञसा राख्दा उनले भने “सरकारी कार्यालयमा आउने सेवाग्राही कुनै पार्किङ्ग शुल्क तिर्नु पर्दैन् तर कसले किन उठाएको मलाई थाहा छैन् । ”
शुल्क उठाउदैं आएका एक युवालाई हामीले सोध्दा उनले आफुलाई संस्थाका अध्यक्ष नविन प्रजापतिले उठाउन लगाएको बताए । स्रोतका अनुसार प्रजापति यातायात व्यवस्था कार्यालय राखिएको घरको धनी हुन् । यसबारे वडाअध्यक्ष किरण थापा संग बुझन् खोज्दा उनले नगरपालिकाले सर्भिस ट्याक्र नभएर पछाडी रहेको जग्गाको पार्किङ्ग गरेको शुल्क लिन पाउने सम्झौता गरेको बताए । उनै वडाअध्यक्षले उक्त सर्भिस ट्याक्र खुलाउन बजेट विनियोज गरेर ग्राभे्रल समेत बिच्छाएका थिए । तर हाल आएर बाटो नै बन्द हुने गरेर व्यवस्थित गर्नुको सट्टा शुल्क लिइदैं आएको देखिन्छ । राजमार्गमा दुर्घटना र सडक जाम हुदाँ अघिल्लो आर्थिक बर्षमा मात्र वडा कार्यालयले तीस लाख रुपैया खर्च गरेर सूर्यविनाय देखि जगाती पुल सम्म सर्भिस ट्याक खुलाएको थियो । नगरपालिकाले भने भवनको पछाडीको क्षेत्र र कर कार्यालयको क्षेत्रमा शूल्क उठाउने स्विकृती दिएको जनाएको छ ।