कविताः जिन्दगी ले पढाएको पाठ

257

– चन्द्र एम.वि ‘अविरल’

म सम्झौता मा बाँच्न चाहान्न
ऊ मृत्यु सँग सम्झौता गर्दै
अस्पतालमा छटपटीदै
औषधी मा ज्यान राखेको
देखेपछि मलाई यस्तो ख्याल आएको हो ।

जब पिडा ले
ज्यान एकनास
तड्पाई रहन्छ
मृत्यु ले मलाई झम्टिन्छ
शरिरका मांसपेशी ले
हड्ताल गर्छन्
शरीरका हरेक अंगले
विरोध गर्छन्
म बाध्य भएर
अन्तिम विकल्प
अस्पताल को सैयामा
जिन्दगी सँग सम्झौता गर्छु।

म झुकेर बाँच्न चाहान्न
त्यो कुरुप शहर को सामुन्ने
एउटा गरिब हात फिँजाएर
घुँडा टेकेर शिर झुकाएर
भोको पेटको लागि
केही मागिरहेको देखेपछि
मलाई यस्तो ख्याल आएको हो।

जब बा को हात बस्छन्
कमाएर परिवार पाल्ने
जिम्मेवारी काँधमा आउँछ
आफुले जानेको सीप कला
कुरुप शहरका निर्दयी मान्छेले
मजाक बनाई दिन्छन् खिल्ली उडाउछन्
पढेको पढाइ काम लाग्दैन
जानेको काम कामलाग्दैन
एउटा मालिक सामुन्ने
कामको भिख माग्दै
हात पसार्दै शिर झुकाउन बाध्य हुन्छु।

म भगवान मान्दिन
केही हुल मान्छे
बा आमालाई गाली गरेर
मन्दिर घुम्दै पुजा गरेको देखेपछी
मलाई यस्तो ख्याल आएको हो।

जब जिन्दगी का अनेक
संघर्ष हरु एकसाथ
सामना गर्नै नसक्ने गरि
दिमागी चेत को बलात्कार गर्दै आउँछन्
बा आमा मात्रै हैन त्यो समय
घाममा देखिने आफ्नो छाँया पनि भगवान लाग्छ
शौचालय मा राखिएको पानी भर्ने
मग पनि भगवान नै लाग्छ
मन्दिर त मान्छे नकारात्मक सोच त्याग्ने ठाउँ
अनि कसरी लाग्दैन त्यो मन्दिरको मुर्ति भगवान,
समयले बाध्यता को सिकार बनाएपछि
म बाआमा पछि मन्दिरको भगवान मान्न थालेको हुँ।

घमण्ड सायद भगवान लाई मन पर्दैन
म जे गर्दिनँ सोच्थ्यें
जिन्दगीको कखरा पढ्ने क्रममा
सपना का रहरहरु को नक्सा बनाउने क्रममा
त्यही गर्न बाध्य भएको छु
समय सँगै जिन्दगी ले धेरै पाठ सिकाएको छ
त्यसैले जिन्दगी जिन्दगी जस्तै पढेको छु।

-फिदिम, पाँचथर