कविताः जिन्दगीको नाटक

215

-चन्द्र एम.वि ‘अविरल’

अनेकौं श्रृङ्गार ले सजिएका ती
अनौठा रुपहरु कस्तो कुरुप लाग्यो,
ठ्याक्कै आर्यघाटको सजावट जस्तै।
म जीवनका आफ्ना नाटक हरु हेर्दै हिड्दा,
कतिपय अरुका जिन्दगीको कथा पनि देखियो,
जो मेरा नाटक संग मिल्दाजुल्दा पनि हुन्थ्ये,
मेरो अगाडि उभिएको एउटा स्वरुप देख्छु,
जसमा अत्याधिक गलत रंगहरु पोतिएका थिए ।

अहो ! कस्तो कुरुप देखिएको,
लथालिङ्ग भएको भित्तामा रोकन गरेजस्तो,
ठ्याक्कै आर्यघाटको सजावट जस्तै,
हुनत मेरो कथा पनि कहाँ त्यस्तो उत्कृष्ट थियो र,
भत्किएका चर्किएका भित्ताहरु
टालटुल पारेर रोकन गरेजस्तै,
केवल आफ्नो आवश्यकता हरु
अभावमा मरितरि परिपुर्ति गर्ने गरि मात्रै

चलिरहेको एउटा नाटकको कथा हो,
जसोतसो हरेक यात्राका रंगमञ्चमा
तिनै अभावका नाटकहरु मन्चन गर्दै हिड्दा,
एउटा दृश्यले सोचमग्न बनाउछ,
जहाँ एउटा जीवन रुपी रंगमञ्चको
अन्त्य हुँदै गरेको र बिदाईमा
केही शत्रु हरु रोएको
र आफन्तले शिर झुकाई
आँसुले सजाईएको आर्यघाट देख्छु
र सम्झन्छु जिन्दगीको एउटा कथा
जो ठ्याक्कै नाटकमा सजाईएको
आर्यघाट जस्तै थियो ।

-फिदिम -१ , पाँचथर