हिमाल आरोहणबाट दुई महिनामै उठ्यो ५० करोड ‘रोयल्टी’

180

वैशाख १७,
काठमाडौँ– संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।  यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका ३७७ आरोही छन् । यीमध्ये ३४ विदेशी आरोही समूहका ३६४ सदस्य तथा पाँच वटा नेपाली आरोही समूहका १३  आरोही सगरमाथा आरोहणमा निस्किएका छन् ।

सन् २०१८ को सोही याममा सगरमाथा आरोहण गर्न ३८ समूहबाट ३४६ आरोहीले अनुमति लिएका थिए जसमा ३४ विदेशी र चार नेपाली समूह थिए । सगरमाथासहितका हिमाल आरोहणबाट झण्डै रु ५० करोड रोयल्टी जम्मा भएको विभागले जनाएको छ ।

विभागको विवरणमा रु ४८ करोड ७४ लाख १९ हजार ६६२ रोयल्टी सङ्कलन भएको छ । यसमा सगरमाथाको थप एक समूहसहितका साना हिमालको हिसाब जोड्न बाँकी छ । आजसम्मको हिमाल आरोहण अनुमति लिनेबाट ५० करोड राजश्व जम्मा हुने विभागका रामेश्वर निरौलाले बताउनुभयो । यो रकममध्ये सबैभन्दा धेरै सगरमाथाबाट रु ४३ करोड ५२ लाख ५५ हजार ९१२ रोयल्टी जम्मा भएको छ ।

त्यसैगरी ल्होत्सेका  लागि १० आरोही समूहका ९२, अमादब्लमका पाँच समूहका ४९, कञ्चनजङ्गमा पाँच आरोही समूहका ३२  र मकालुमा चार आरोही समूहका ५३ आरोही गएका छन् । अन्नपूर्ण र धौलागिरि हिमाल आरोहणलाई तीन तीन आरोही समूहले अनुमति लिएको विभागको विवरणमा उल्लेख छ ।

पर्यटन विभागका अनुसार धेरै आरोही सगरमाथाको आधार शिविरभन्दा माथिततिर लागिसकेका छन् ।    विभागका महानिर्देशक डण्डुराज घिमिरेले आरोहण अनुमति लिएका सबैजसो आरोही सगरमाथा आधार शिविर र केही क्याम्प दुई र तीनसम्म पुगिसकेको जानकारी दिए । ‘यस पटकको सगरमाथा आरोहण पनि उत्साहजनक हुने देखिएको छ । अहिले केही आरोही क्याम्प तीनतिर पुगिसकेका छन् भने कतिपय आधार शिविरमा छन् ’, महानिर्देशक घिमिरेले भने ।

यस यामको सगरमाथा आरोहणका लागि सात हजार ३०० मिटर उचाइसम्म बाटो बनाइएको छ । एक्सिपिडिसन अप्रेटर एशोसिएशनबाट खटिएका शेर्पा समूहले सगरमाथाको क्याम्प दुईदेखि समिटसम्मको बाटो बनाउने र चुुचुरोमा डोरी टाँग्ने जिम्मेवारी पाएको छ । सगरमाथा आरोहणमा गएका आरोही क्याम्प तीनसम्म पुगेका सगरमाथाको आधार शिविरमा रहनुभएका पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले राससलाई जानकारी दिए ।

नेपाललाई विश्वमा पहिचान गराउने साहसिक पर्यटनको महत्वपूर्ण आधार पर्वतारोहणलाई लिइन्छ । यतिखेर विभिन्न ४८ मुलुकका करिब ५०० आरोही हिमाल आरोहणका लागि आएका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बढी ४०० को हाराहारीमा विदेशी छन् । सबैभन्दा धेरै छिमेकी मुलुक भारत, चीन, संयुक्त राज्य अमेरिका र बेलायतबाट आरोही आएका छन् । त्यस्तै,  जापान, लेवनान, नर्वे, क्यानाडा, ब्राजिल, अर्जेन्टिनालगायत मुलुकबाट पनि सगरमाथा आरोहणका लागि आएका छन् ।

योसँगै यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि आरोहण अनुमति लिने काम सकिएको छ । सगरमाथासहितका आठ हजार मिटरभन्दा अग्ला हिमालको अनुमति दिने काम बन्द भइसकेको विभागको पर्वतारोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिए । उनले साना हिमाल तथा चुली आरोहणका लागि अझै फाट्ट फुट्ट आरोही आउनसक्ने उल्लेख गरे ।

रोयल्टी बढी उठ्यो 

अघिल्लो वर्ष (सन् २०१८ को) वसन्त ऋतुको तुलनामा यो याममा हिमाल आरोहणबाट रोयल्टी रकम बढी जम्मा भएको छ । अघिल्लो याममा सगरमाथासहितका हिमाल आरोहणबाट रु ४६ करोडभन्दा बढी रोयल्टी उठेको थियो । सगरमाथाबाट मात्रै करीब रु ३४ करोड रोयल्टी जम्मा भएको थियो । तुलनात्मक रुपमा यो याममा रु दुई करोड रोयल्टी बढी उठेको छ । हालसम्मको अवधिमै ४८ करोडभन्दा बढी रोयल्टी जम्मा भइसकेको छ ।

संसारका आरोहीको उत्कृष्ट रोजाइमा सगरमाथासहितका हिमाल पर्छन् । त्यसैले हरेक वर्ष विभिन्न मुलुकका आरोही उल्लेख्य सङ्ख्यामा आरोहणका लागि नेपाल आउने गर्छन् । पर्वतारोहणका लागि आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ मध्ये नेपालमा आठ हिमाल पर्दछन् ।

सगरमाथा आरोहणका लागि विदेशी नागरिकले ११ हजार अमेरिकी डलर तिर्नुपर्छ भने नेपाली नागरिकले रु ७५ हजार रोयल्टी बुझाउनुपर्छ । सरकारले आरोहणका लागि ४१५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य हिमाल एक हजार ३०० भन्दा बढी रहेको बताइन्छ ।RSS