Wednesday, September 23, 2026
Home समाचार नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी

नेपालको मकालु हिमालमा यतीको पाइला भेटिएको भारतीय सेनाको दाबी

125

वैशाख १७,
काठमाडौं । भारतीय सेनाले नेपालको मकालु हिमालको आधार शिविरमा यतीको पैतालोको छाप भेटेको दाबी गरेको छ । सोमवार सेनाले ६० लाख फलोअर्स भएको ट्विटरबाट आफ्नो आरोहण दलले ‘मकालुको आधार शिविरमा ‘मिथक कथामा वर्णित यतीको रहस्यमय पैतालो छाप भेटेको’ जानकारी दिएको छ।

ठूलो बाँदरजस्तो जनावरका रूपमा वर्णित यति दक्षिण एशियाका लोककथाहरूमा भेटिन्छ। हालसम्म यतीको अस्तित्वको बारेमा कुनै प्रमाण नभए पनि दक्षिण एशियामा यसलाई विश्वास गर्नेहरू छन्। र, भारतीय सेनाले आफ्नो आधिकारिक ट्विटरमा यतीको ‘पैतालोको छापको तस्बिर’ प्रकाशन गरेर त्यो कथामा नयाँ कोण थपेको छ।

त्यो तस्बिर एप्रिल ९ मा खिचिएको भए पनि भारतीय सेनाले यतिका बारेमा प्रचलित सिद्धान्तहरूसँग मेल खाएको निश्चित गरेपछि मात्रै प्रकाशित गरेको टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ। सामाजिक सञ्जालमा उत्पन्न शङ्कालाई लक्षित गर्दै भारतीय सेनाले यतीका अस्तित्वका बारेमा प्रमाणको तस्बिर खिचिएको र सम्बन्धित विज्ञहरूलाई हस्तान्तरण गरेको बताएको छ।

“त्यसैले हामीले सोच्यौँ कि वैज्ञानिक सोचलाई आकर्षण गर्न र रुचिलाई पुनर्ताजगी गर्न यो सार्वजनिक गर्नुपर्छ।” यती हिमालयको माथिल्लो भागमा बस्ने मानिन्छ र यति वा यसका पैतालोका छाप देखेको कथाहरू नेपाल, भारत र भुटानमा प्रचलित छ। सन् २०१३ मा ब्रिटिश वैज्ञानिकहरूको टोलीले यती हिमालमा पाइने भालुको एक उपप्रजाति हुनसक्ने निष्कर्ष निकालेको थियो। ट्विटरमा मानिसहरूले भारतीय सेनाको दाबीलाई विश्वास नलागेको बताएका छन्।

भारतीय सेनाको दाबीमाथि ठट्टा गर्नेहरू पनि उत्तिकै छन्। हालैका वर्षमा यतीको अस्तित्वका बारेमा थुप्रै अनुसन्धानहरू भएका छन्। सन् २०११ मा ५० वर्षअघि नेपालबाट लन्डन पुरर्‍याइएको एउटा ‘यतीको औँला’ मानिसको हाड भएको प्रमाणित भएको थियो। नेपालमा पत्रकार कनकमणि दीक्षितले यतीको पाइला बनाउने तरिका भन्दै ट्विटरमा भारतीय सेनाको दाबीलाई प्रश्न गरेका छन्।

के हो यती ?

तिब्बत र नेपालको लोकप्रिय काल्पिनिक कथाका अनुसार एशियाको पवर्तीय क्षेत्रमा दैत्याकार बाँदरजस्तै देखिने जीव वस्छ, जसलाई यती भनिन्छ । वर्षौंदेखि मानिसहरुले यतीलाई देखेको दाबी पेश गर्दै आइरहेका छन् । सन् २०१३ मा अक्सफोर्ड विश्वविद्यालयको एक अध्ययनमा यती भालुकै एक उप–प्रजाती हुनसक्ने उल्लेख गरेको थियो । प्राध्यापक स्काइजले बीबीसीसँग कुरा गर्दै यतीको मिथकपछाडि कुनै वास्तविक जीव हुनसक्ने बताएका थिए । अमेरिकी जीववैज्ञानिक शार्लट लिन्डक्विस्टले यतीको अवशेष भनेर दाबी गरिएका वस्तुहरुको डिएनए परिक्षण गरेका थिए । यसमा हात, दाँतदेखि कपालसम्म रहेका थिए ।जाँचको दौरान केही नमूना कुकुरको त केही आठ फरक–फरक प्रकारको भालुको निस्किएको थियो ।bbc