नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव

82

वैशाख १५,
काठमाडौं ।नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । यस्तै २०७३ कात्तिकदेखि राजधानी काठमाडौँलगायतका प्रमुख शहरी क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो । नियमित विद्युत् प्रवाहका कारण औद्योगिक क्षेत्रमा सकारात्मक मात्रै होइन रणनीतिक प्रभाव परेको उक्त लेखा तथ्याङ्कले उल्लेख गरेको छ ।

मुलुकको कूल ग्रार्हस्थ उतपादनमा विद्युत्, ग्यास र पानीको योगदान एक दशमलव २५ प्रतिशत हुनपुगेको छ । चालू आर्थिक वर्षमा विद्युत् उत्पादन गत वर्षको तुलनामा वृद्धि भएका कारण पनि सकारात्मक प्रभाव परेको पाइएको हो ।

चालू आर्थिक वर्षमा वाग्मती जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । सो आयोजनाको क्षमता २२ मेगावाट रहेको छ । गत फागुन तथा चैत महिनामा वर्षाका कारण आन्तरिक उत्पादनमा वृद्धि तथा आयातमा कटौती भएको सो क्षेत्रको वृद्धि दर बढी भएको हो ।

सरकारको सकारात्मक पहल तथा ऊर्जा क्षेत्रलाई दिइएको प्राथमकितामा राखेका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणमा रहेका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन गरेको सहजीकरण तथा नेपाल विद्युत् प्राधिकरणले तदारुकताले पनि अर्थतन्त्रलाई बढावा दिएको हो ।

प्राधिकरणले गत चैतमा १७८.८ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको विभागको तथ्याङ्कमा समावेश छ । त्यसमा आन्तरिक रुपमा मात्रै १२९.९ गिगावाट घण्टा खरीद गरेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा उक्त मात्रा २५.४ प्रतिशत बढी हो । आव २०७४/७५ मा कूल ५२१.४ गिगावाट घण्टा विद्युत् उत्पादन भएको थियो ।

प्राधिकरणका अनुसार यही वैशाख १७ गते मङ्गलबारदेखि लामो समयदेखि समस्यामा परेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको पहिलो यूनिट सञ्चालनमा आउने छ । हाल सो आयोजनाको परीक्षण भइरहेको छ । यस्तै केही समयभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ ।

यस्तै चालू आवको गत चैतसम्म मदम्यू खोला १३ मेगावाट, रुदी खोला ए ८.८ मेगावाट, माई साना क्यास्केड ८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिउको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो अवधिमा सुपर माई हाइड्रोपावर ७.८ मेगावाट, मोलुङखोला ७ मेगावाट, ठेउलेखोला १.५ मेगावाट, विष्णुप्रिया सोलामार फार्मबाट ०.९६ मेगावाट, सोबुवा खोला दुई मेगावाट र लेगुवा खोला ०.०४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मन्त्रालयका अनुसार गत चैतसम्म कूल ७०.१६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएका छन् ।

नियमित विद्युत् आपूर्तिसँगै उद्योग क्षेत्रको पनि कूल ग्राहस्थ उत्पादनमा ५.५९ प्रतिशत योगदान पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा कूल मूल्य अभिवृद्धि ५.७८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । ऊर्जाको नियमति उपलब्धता, अनुकूल औद्योगिक वातावरण आदि कारणले उद्योगको क्षमतामा विस्तार भएको हो ।

विभागको प्रतिवेदन अनुसार निर्माण क्षेत्रले समेत कूल गहस्थ उत्पादनमा ८.९४ प्रतिशत योगदान दिने अवस्था देखिएको छ । चालू आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला आयोजनाको निर्माण कार्यले पनि निर्माण क्षेत्रले सकारात्मक प्रभाव पारेको हो ।

पर्यटकको आवागमनमा भएको वृद्धि तथा होटल तथा रेष्टुरेन्टमा भएको लगानीका कारण पनि कूल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रले २.०५ प्रतिशत योगदान दिने देखिएको विभागको भनाइ छ ।RSS