गजल: प्रीति फुल्ने फुलबारीमा

155

-यमुना पराजुली अधिकारी

प्रीति फुल्ने फुलबारीमा आज चिहान ढलेको छ
माली जो छ उसैबाट बन्दुक हजुर चलेको छ ।

माया सिर्जित गर्नेहरु भित्रभित्रै जल्न थाले
हरियाली पाखाभरि आगो दन्दन बलेको छ ।

खुनको प्यासी भए हजुर माया गर्छु भन्नेहरु
मलम दले भन्दै घाउमा नुन अमिलो दलेको छ ।

रोपेकि थें घर आँगनमा माया रुपि बृक्षहरु
अमृत फल छैन किन बिष यस्मा फलेको छ ।

नसकिने रैछ कतै निभ्या बत्ति जगाउन
रुन्छ मन घरिघरि कलेजोमा जलेको छ ।
-काठमाडौं