भूकम्पका चार वर्षः भक्तपुरमा पहिलो किस्ता लिएका १७ हजार लाभग्राही बीचैमा हराए

88

बैशाख १२,
भक्तपुर । वि.स २०७२ साल बैशाख १२ गते नेपालको इतिहासमा एउटा पीडादायी दिनको रुपमा उल्लेखित भएको छ । विनाशकारी भूकम्प गएको आज चार वर्ष पुरा भयो । जाडो, तातो, पानी, हुरी बतास सहँदै धेरै पीडितहरुले चार वर्षको कष्टकर रुपमा बिताए । चार वर्ष बिताएका पीडितलाई अब कति वर्ष अझै यसरी नै बस्नुपर्ने हो पत्तो छैन । भक्तपुर जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २८ हजार ३ सय ८ छ ।

जसमध्ये २४ हजार ३ सय ४७ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही ७ हजार ८ सय ६३ रहेको जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरले जनाएको छ । तेस्रो किस्ता लिनेको संख्या ७ हजार २ सय ५ रहेको कार्यालयको तथ्यांकमा देखिन्छ ।
पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या न्यून रहेको छ । पहिलो किस्ता र तेस्रो लिएकालाई हेर्ने हो भने भक्तपुरमा १७ हजार १ सय ४२ लाभग्राही बिचमा नै हराएका छन् ।
भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिकामध्ये सबैभन्दा धेरै लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ९ सय ३७ जना छन् ।

उक्त नगरपालिकामा ९ हजार ७ सय १२ पहिलो, ३ हजार ८६ दोस्रो र २ हजार ८ ४१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाई भक्तपुरका अनुसार सूर्यविनायक नगरपालिकामा ७ हजार ४ सय १६ लाभग्राही रहेका छन् । नगरपालिकामा ६ हजार ९ सय ६९ पहिलो, २ हजार ४ सय ९९ दोस्रो र २ हजार ३ सय १९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । त्यसैगरि भक्तपुर नगरपालिकामा ७ हजार ६ सय २२ लाभग्राही रहेका छन् । नगरपालिकामा ५ हजार ६ सय ७ पहिलो, १ हजार ६ सय १७ दोस्रो र १ हजार ४ सय ३१ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् । मध्यपुरथिमि नगरपालिकामा २ हजार ३ सय ३३ लाभग्राही छन् । जस मध्य २ हजार ५९ लाभग्राहीले पहिलो किस्ता, ६ सय ६१ले दास्रो र ६ सय १३ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम लिएका जिल्ला आयोजना कार्यान्वयन इकाईले जानकारी दिएको छ ।

समस्या अनेक
भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजी आवास निर्माणले गति लिन नसकको कार्यालयले जनाएको छ ।
भूकम्प गएको एक वर्षपछि नै घर बनाउने गरेपनि भक्तपुर नगरभित्र रहेका केही बस्ती विश्वसम्पदा सूचीभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लागेको स्थानीयहरुको गुनासो छ ।
वडा कार्यालयको सिफारिसमा नगरपालिकाबाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सूचीमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नुपर्ने कानुनी प्रावधान छ ।
सुरुका वर्षमा दक्ष श्रमिक, र निमार्ण सामाग्रीको मुल्य बढ्दा समस्या भएपछि धेरै लाभग्राहीले चाहेको समयमा घर बनाउन सकेनन् ।
भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुँदा समयमै निजी आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ ।
जग्गा एकिकरण, हरित क्षेत्रमा बसोबास, तोकिएको मापदण्ड स्वीकृत नक्सा अनुसार घर नबनाउनु पनि अर्को समस्या देखिन्छ ।