पानीजहाज ऐन संशोधन गर्दै मन्त्रालय

102

नेपाल समाचारपत्र
बैशाख ९, काठमाडौं । सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ । पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि गृहकार्य थालेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिब शिवहरि सापकोटाले पानीजहाज कार्यालय र कर्मचारीको व्यवस्था भएसँगै समयअनुसारको ऐनको आवश्यकता परेको बताउनुभयो ।

उहाँले ऐन संशोधन कार्यका लागि मन्त्रालयको व्यस्तता रहेको जिकिर गर्नुभयो । ‘मन्त्रालय ऐन संशोधन गर्नतिर व्यस्त छ । हामीले लगिरहेका छौँ’ –उहाँले भन्नुभयो । परामर्शदातामार्फत ऐन संशोधन गर्न गृहकार्य थालेको र केही दिनमै यो विषय टुंगिने उहाँको दाबी थियो । परामर्शदाता छनोट नभइसकेकाले कहिलेसम्म ऐन संशोधनको विषय टुंगोमा पु¥याउने भन्ने कुरा अहिले नै केही भन्न नसकिने उहाँले बताउनुभयो । नेपाल पानीजहाज कार्यालयका रजिस्ट्रार ऋषिराज कोइरालाले कार्यालयसँग ऐन संशोधन गर्ने शीर्षकमा बजेट नभएकाले मन्त्रालयले जिम्मेवारी लिई काम गरिरहेको बताउनुभयो ।