पर्यटकको आवरणमा सुन तस्करी मौलाउदैं

126

नयाँ पत्रिका
बैशाख ९, काठमाडौं । विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको छ । आइतबार कम्बोडिया र भियतनामका चारजना महिला तीन केजी तीन सय ग्राम तस्करीको सुनसहित विमानस्थलमा पक्राउ परेका छन् । बैंककबाट नेपाल आउनेक्रममा उनीहरू पक्राउ परेका हुन् ।गोप्य अंगमा लुकाएर उनीहरूले सुन तस्करीको प्रयास गरेका थिए ।
पक्राउ पर्नेमा दुई भियतनामी र दुई कम्बोडियन महिला छन् । भन्सार कार्यालयले चेकिङका क्रममा दुवैलाई पक्राउ गरेको हो । अन्य दुईजना भन्सार पास गरेर पार्किङतर्फ पुगेपछि समातिएका हुन् । उनीहरूबाट सुनका गहना तथा साना टुक्राहरू बरामद भएको विमानस्थल प्रहरीका प्रमुख एसएसपी सन्दीप भण्डारीले बताए ।

विदेशी महिलाको प्रयोग
विमानस्थलमा सानो परिमाणमा हुने तस्करीका घटना नौलो होइनन् । विगतमा नेपाली र भारतीयलाई मात्र प्रयोग हुने गरेकोमा अहिले विभिन्न देशका नागरिकलाई पर्यटकका रूपमा नेपाल पठाएर सुन तस्करी हुन थालेको हो । ‘पहिला नेपाली र भारतीय नागरिक सुन तस्करीमा संलग्न हुन्थे,’ भन्सार कार्यालय विमानस्थलका प्रमुख गजेन्द्र ठाकुर भन्छन्, ‘पछि चिनियाँ र थाई नागरिक तस्करीमा संलग्न भए, पहिलोपटक कम्बोडियन र भियतनामीसमेत पक्राउ परेका छन् ।’