काठमाडौं । निजामती सेवामा महिलाको प्रवेशको अधिकतम उमेर एक वर्ष घट्ने भएको छ ।हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामतीमा महिलाको प्रवेशको उमेर एक वर्ष घटाउने गरी प्रतिवेदन तयार पारेको हो ।
निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद भने बढेको छ । अवकाश उमेर हद भने महिला र पुरुष दुवैका लागि समान ६० वर्ष राखिने भएको छ । हाल निजामतीमा अवकाश उमेर हद ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्याउन लागिएको हो । ५८ वर्षबाट ६० वर्ष पुर्याउने निर्णय चार चरणमा लागू हुनेछ । ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुने, एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको ६ महिनापछि ६० वर्षको उमेर हद लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।
सरकारले विधेयकमा ५८ वर्षबाट सीधै ६० वर्षे उमेर हद लागू गर्ने प्रस्ताव गरेको थियो । यसलाई बदलेर राज्य व्यवस्था समितिले चार चरणमा लागू हुने गरी विधेयकको प्रतिवेदन तयार पारेको हो ।अर्थात, निजामती सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ ।