भक्तपुर । घरभित्र सिमित महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सूर्यविनायक नगरपालिकाले गृहिणी महिला सशक्तीकरण कार्यक्रम सुरु गरेको नगरप्रमुख बासुदेव थापाले जानकारी दिनुभएको छ । बुधबार उक्त अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्दै नगर प्रमुख थापाले भन्नुभयो “गृहिणी महिलालाई आत्मनिर्भर बनाउने हाम्रो प्रमुख उद्देश्य हो, त्यसैले वडा स्तरबाट नै आवेदन मागेर यो कार्य सुरु गरेका हौं । ”महिलालाई आर्थिक रुपमा सवल र सामाजिक हिसाबले नेतृत्वदायी बनाउनु नै नगरपालिकाको उद्देश्य भएको नगरप्रमुख थापाले प्रष्ट पार्नुभएको छ । “तपाईँहरुले सिकेको सिपलाई अर्थसंग जोड्न सके सकारात्मक प्रभाव पर्छ, नगरप्रमुख थापाले भन्नुभयो ।” तालिमलाई व्यवहारमा लागू गरेर व्यवसायी बन्न उहाँले अभिमुखिकरणमा सहभागीलाई शुभकामना समेत दिनुभएको छ ।
उपप्रमुख सरिता तिम्सिना भट्टराईले ंनगरपालिकाले सुरु गरेको यो पहिलो र नौलो कार्यक्रम भएको बताउनुभयो । महिलाहरु उद्यमसंग जोडिएर जबसम्म व्यवसायी बन्नदैनन् तबसम्म गृहिणी महिला सशक्तीकरण नहुने धारण राख्नुभयो । “तपाँईहरुले इच्छा शक्ति राखेर अगाडी बढ्नुभयो भने बजार र थप सिपकोलागि सहयोग गर्न स्थानिय सरकार तयार छ,” सूर्यविनायक नगरपालिकाकी उपप्रमुख भट्टराईले भन्नुभयो । सबैले एकैखालको व्यवसाय भन्दापनि फरक फरक गर्ने हो भने, बजार र ग्राहककोलागि समस्या नहुने उपप्रमुखको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नरगपालिकाका सामाजिक विकाश समितिका संयोजक एवंम प्रवक्ता रबिन्द्र सापकोटाले बागमती प्रदेश सरकारबाट बहुवार्षिय अन्र्तगत महिला सशक्तीकरण कार्यक्रमकालागि सूर्यविनायक नगरपालिका छनोट भएको जानकारी दिनुभयो । ३ सय ९० घण्टा अवधिको यस तालिमले महिलाहरुलाई सिप सिकाउने भएकाले सिकेपछि आत्मनिर्भर हुन सकिने प्रवक्ता सापकोटाको भनाई छ । एकै जनाले फरक फरक तालिम लिएर अन्यौल हुनुभन्दा पनि एउटा विषयको मात्रै लिएर आत्मनिर्भर बन्न उहाँले सबैलाई आग्रह गनूभएको छ ।
नगरपालिकाको लैङ्गिक विकाश तथा सामाजिक समावेशिकरण शाखाकी प्रमुख बिजयालक्ष्मी सुवेदीले नगरपालिकाको वडा नं. ४, ७, ८, ९ र १० बसोबास गर्दै आएका करिब २ सय जना महिलाहरुलाई विभिन्न विषयमा तालिम प्रदान गर्ने जानकारी दिनुभएको छ ।