Wednesday, October 7, 2026
Home अर्थ प्रधानमन्त्रीको उपस्थितिमा भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

प्रधानमन्त्रीको उपस्थितिमा भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

97

बैशाख ३,
सुर्खेत –प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज ‘ब्रेक थ्रु’ भएको छ । टनेल बोरिङ मेशिन (टिबिएम) प्रविधिमा पहिलो पटक नेपालमा सो सुरुङ निर्माण भएको हो ।

सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनीयरिङ ओभरसिज प्रालि (कोभेक) ले टिबिएममार्फत सुरुङ निर्माण गरेको हो । सम्झौतामा उल्लिखित अवधिभन्दा एक वर्षअघि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो ।

बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेशिन भेरी किनारको चिप्लेमा आइपुगेको हो । विसं २०७४ कात्तिक मसान्तदेखि टिबिएमको सहायताले सुरुङ खन्न थालिएको हो । सिँचाइ विभाग र कोभेकबीचको सम्झौतामा सुरुङ खन्ने अवधि २०७६ चैत १५ गतेसम्म थियो ।

आजै सुर्खेत आएका प्रधानमन्त्री ओलीले यसपछि सिक्टा सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । ‘ब्रेक थ्रु’ कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्की पनि उपस्थित रहेका थिए ।-रासस