नौ बाजाका बाद्य गुरु हरिगोविन्द सम्मानित

170

चैत २७,
भक्तपुर । नेपाली कला संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पिडिलाई बाद्यबादनतर्फ आकर्षित गर्न काठमाडौं विश्वबिद्यालयमा नौ बाजाको प्रशिक्षकका रुपमा कर्म गर्दै आउनुभएका ८४ बर्षिय बाद्य गुरु हरिगोविन्द रन्जितकारलाई शिक्षक दिवसको अवसरमा भक्तपुरमा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले ४०औं शिक्षक दिवसको अवसरमा आज आयोजना गरेको सम्मान तथा नयाँ बर्षको शुभकामना कार्यक्रममा बाद्यबादक तथा गुरु रंजितकारलाई सम्मान गरिएको हो । सो अवसरमा अर्का युवा बाद्यवादक मनिष सिल्पकारलाई पनि सम्मान गरियो ।
संगठनले २०७५ सालमा सेवा निवृत्त हुनुभएका २६ जना सामूदायिक बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरुलाई समेत सम्मान गरेको संगठनका सचिव गोविन्द ढुंगानाले जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष लक्ष्मण शर्माले सरकारले यो वा त्यो वहानामा अस्थायी रुपमा कार्यरत शिक्षकलाई जिम्मेवारीबाट हटाउन परिक्षा सञ्चालन गरेर नाटक गरेको बताउँदै आन्दोलनरत अस्थायी शिक्षकको माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गर्नुभयो ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले स्थानीय सरकारका प्रमुखहरुमा दम्भ बढ्दै गएको उल्लेख गर्दै सामूदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने जिम्मेवारी स्थानीय सरकारको काँधमा आएकाले सो जिम्मेवारी कुशलताका साथ पुरा गर्न स्थानीय तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो । संगठनका पूर्व अध्यक्ष माधव प्रसाद अधिकारीले सरकारले अस्थायी शिक्षकको आन्तरिक परिक्षामा असफल हुने शिक्षकलाई उपदानको व्यवस्था गरेर विदाई गर्नु सकारात्मक भएपनि उनीहरुले लामो अवधी शिक्षा क्षेत्रमा पु¥याएको योगदानको भने सरकारले सम्मान गर्न नसकेको बताउनुभयो । उहाँले स्थानीय सरकारले निर्माण गरिरहेको ऐनले शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नसक्ने उल्लेख गर्नुभयो ।
संगठनका भक्तपुर अध्यक्ष रामप्रसाद न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा संगठनका उपाध्यक्ष बिष्णु प्रसाद पोखरेल, नेपाल राष्ट्रिय अभिभावक संघका पूर्व केन्द्रिय अध्यक्ष सुप्रभात भण्डारी, जिससका उपप्रमुख सरिता कुँवर, गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), शिक्षक महासंघ भक्तपुरका अध्यक्ष गंगाधर हाडा, संगठन भक्तपुरका पूर्व अध्यक्ष भवानी खड्का, गणेश माबि व्यवस्थापन समितिका अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलगायतले शिक्षाको विकासमा सरोकारवालाको जिम्मेवारी र भूमिकाका बारेमा चर्चा गर्नुभयो ।