चैतभित्र पार्टी माथिको प्रतिबन्ध नहटाए सरकारलाई प्रतिबन्ध लगाउने विप्लवको चेतावनी

103

चैत्र १२,
काठमाडौँ — सरकारले लगाएको प्रतिबन्धविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आन्दोलनको घोषणा गरेको छ । चैतभित्र पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारविरूद्ध प्रतिबन्ध र आमहडताल गर्ने चेतावनी दिएको छ।

सरकारले गत फागुन २८ मा चन्द समूहमाथि प्रतिबन्ध लगाएको थियो। त्यस यता सरकारले चन्दका कार्यकर्तामाथि निगरानी बढाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी प्रतिबन्ध नहटाइए सरकारविरूद्ध संघर्ष गर्ने चेतावनी दिएका छन्। विज्ञप्तिमा चैतभित्र प्रतिबन्ध नहटाएमा साथै शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आम हड्तालको तयारी’ समेत भनिएको छ।

नेताहरू धमाधम पक्राउ पर्न थालेपछि चन्दले सोमबार एक विज्ञप्ति जारी गरेका हुन् । गत शुक्रबार मध्य क्षेत्रीय कमाण्डर हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहितका कार्यकर्ता पक्राउ परेका थिए। आइतबारकोशी ब्युरो संयोजक घनश्याम श्रेष्ठ पक्राउ परेकाथिए। यस्तै नवलपरासी, भोजपुर लगायतका जिल्लामा पनि चन्दका कार्यकर्ता पक्राउ परेका छन्।

बुधबारदेखि चरणबद्ध आन्दोलन घोषणा गर्दै शनिबार नेपाल बन्द आह्वान गरेको छ।बुधबार देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने महासचिव ‘विप्लव’ द्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख छ। १९ गते देशभर अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने बताएको छ।