Sunday, September 27, 2026
Home अन्तर्राष्ट्रिय मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

मेक्सिको सीमामा पर्खाल बनाउन एक अर्ब डलर निकासा

81

चैत १२,
वासिङ्टन –अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा गरिदिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपतकालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गर्नुभएको थियो । राष्ट्रपति ट्रम्पको सीमा पर्खालका निम्ति संसदबाट बजेट स्वीकृत भएको छैन भने आपतकालीन घोषणाप्रति पनि अमेरिकी कङ्ग्रेसमा सहमति जुट्न सकेको छैन ।

विपक्षी डेमोक्र्याटिक पार्टीले राष्ट्रपतिले संवैधानिक प्रावधानलाई दुरुपयोग गरी विशेषाधिकार (भिटो) प्रयोग गरेको भन्दै अदालतमा उजूरी समेत दिएको छ ।

अमेरिकी गृह विभागले रक्षा मन्त्रालयलाई मेक्सिको सीमामा ९२ किलोमिटर पर्खाल निर्माण गर्न अनुरोध गरिसकेको छ । प्रस्तावअनुसार पर्खाल निर्माणसँगै सडकको स्तरोन्नति गर्ने तथा तारबार र प्रकाशको उचित व्यवस्था गरिने छ । ह्वाइट हाउसले सन् २०२० को बजेट प्रस्तावमा पर्खाल निर्माणका लागि महत्वाकाँक्षी करिब ९ अर्ब डलर माग गर्ने तयारी गरेको छ । यसै वर्ष राष्ट्रपति ट्रम्पले करिब ६ अर्ब डलर माग गर्नुभएको थियो । तर अमेरिकी संसदले राष्ट्रपतिको उक्त प्रस्ताव अस्वीकार गरिरहेको छ ।-रासस/एएफपी