तालिबानसँगको शान्ति सम्झौता रद्द गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको घोषणा

127

एजेन्सी, भदौ २२,
काठमाठडौं । अमेरिकाले तालिवान विद्रोहीसँग गर्ने भनिएको शान्ति वार्ता अन्तिममा आएर रद्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अफगान राष्ट्रपति असरफ घानी र तालिवानका उच्च नेताहरूसँग वार्ता गर्ने तय भएको थियो । तर, ट्रम्पले एक ट्विट गर्दै तालिवानसँग तय वार्ता रद्द भएको जनाएका छन् । अफगानिस्तानको राजधानी काबुलमा हालै भएको आक्रमणपछि ट्रम्पले निर्धारित वार्ता रद्द गरेका हुन् । एक अमेरिकी सैनिकको ज्यान जानेगरी भएको उक्त आक्रमणको जिम्मा तालिवानले लिएको थियो ।

अमेरिकी वार्ताकार जल्मे खालिलजादले तालिवानसँग सिद्धान्तका आधारमा शान्ति सम्झौता हुने घोषणा गरेका थिए । अमेरिका र तालिवानका प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा भएका नौ चरणका वार्तापछि खालिजजादले यसको खुलासा गरेका थिए । प्रस्तावित सम्झौतामा अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना ५ हजार ४ सय सेना २० हप्ताभित्र फिर्ता गर्नेलगायत विषय उल्लेख थियो । हाल अफगानिस्तानमा अमेरिकाका करिब १४ हजार सेना तैनाथ छन् । यद्यपि, ट्रम्पले त्यसमा अन्तिम स्वीकृति दिन भने बाँकी थियो । आइतबार वार्ता गरेर यसलाई अन्तिम तयारी दिने भनिए पनि तालिवानी आक्रमणपछि अन्तिममा आएर वार्ता रद्द हुन पुगेको छ ।

सन् २००१ देखि अफगानिस्तानका अधिकांश भूभागमा तालिवानले नियन्त्रण जमाएको छ । तालिवानको दबदबा कायम भएदेखि नै त्यहाँ अमेरिकी सैनिक तैनाथ छन् । अफगान सरकारले वार्ताका लागि तालिवानसँग विगतदेखि नै वार्ताको प्रस्ताव गर्दै आएको छ । तर, अफगानी सरकार अमेरिकाको मोहोरा भएको भन्दै उसले वार्ताको प्रस्ताव अस्वीकार गर्दै आइरहेको छ ।