Saturday, September 26, 2026
Home पत्रपत्रिका ‘मेरो बाबालाई किन आगो लगाउने ? ’

‘मेरो बाबालाई किन आगो लगाउने ? ’

90

समाचारपत्र दैनिक/विमल विष्ट,
माघ २४, डोटी । जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मंगलबार भएको निधनले गाउँभरि रुवाबासी चल्यो। तर उनका अञ्जान छोरा अनिश जोरालाई के हुँदै छ भन्ने कुराको कुनै जानकारी थिएन। घरबाट शव यात्रा शुरू भयो, बुबाको शवलाई काँध हाल्न गाउँलेले अनिशलाई सघाए। शवयात्रासँगै उनी पनि मसानघाट पुगे। यति बेलासम्म पनि कुनै भेउ पाएका थिनन् उनले। तर बुबालाई चितामा राखेर ‘आगो लगाऊ’ भन्दै उनको हातमा राँको दिइएपछि आत्तिदै भने– ‘मेरो बाबालाई किन आगो लगाउने ?’ बाबालाई पोल्छ भन्दै आगो लगाउन मानिरहेका थिएनन्। परिवारका अन्य सदस्यले सम्झाइबुझाइ गरेपछि आगो लगाउन त तयार भए तर ‘बाबा, बाबा’ भन्दै चिच्याउन छाडेनन्। बाबालाई किन आगो लगाएको भन्दै चिच्याइरहे पनि जवाफ दिने हिम्मत कसैमा आएन। उनका बुबा ८ महिनाअघिदेखि क्यान्सरबाट पीडित थिए। १४ वर्षको उमेरदेखि रोजगारीका लागि भारत आउजाउ गर्ने तेजबहादुरको ८ महिनाअघि बायाँ पाखुरा दुख्यो। भारतमै जचाउँदा चिकित्सकले सल्लाह दिए– ‘पाखुराभित्र गानो भएकाले शल्यक्रिया गर्नुपर्छ। तेजले त्यसै गरे।’ तर निको हुनुको सट्टा झन् बल्झेर क्यान्सर देखियो। उपचारका लागि भारतको चेन्नई, बैंगलोर र नेपालको चितवनसम्म धाउँदा पनि केही लागेन। हुने हार दैव नटार ⁄ अन्ततः उनको मृत्यु नै भयो। गरिबीका कारण यहाँका पहाडी जिल्लाका स्थानीयले समयमै उपचार नपाउँदा क्यान्सरबाट अकालमै ज्यान गुमाउनुपरेको छ। क्यान्सर रोगबारे समयमै जानकारी नपाउँदा यहाँका कतिपय बिरामी मर्न बाध्य भएका छन्। सुदूरपश्चिम प्रदेशका कुनै ठाउँमा क्यान्सर रोग पत्ता लगाउने न त उपकरण छ न त औषधी गर्ने ठाउँ नै। सामान्य बिरामी हुँदासमेत भारतका निजी क्लिनिकमा गएर अप्रेसन गर्ने गरेकाले क्यान्सर रोग बढ्न थालेको शैलेश्वरी अस्पतालका डा। राजेश बाहुन बताउनुहुन्छ।