युवा स्वरोजगार कोष भन्छः अनियमितता भएको छैन

201

कार्तिक १७,
काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कोषमा अनियमितता नभएको दावी गरेको छ । केही दिनअघि राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमाथि गम्भीर ध्यानाकर्षण भएको भन्दै कोषले आफ्ना काम कारबाहीहरु ऐन, नियमअनुसार नै भएको बताएको हो । राष्ट्रिय सतर्कता केन्द्रले कोषको कामकारबाहीका विषयमा अध्ययन गरी केही दिनअघि कोषमा अनियमितता भएको र नीति निर्देशिकाअनुरुप काम नभएको ठहरसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सतर्कता केन्द्रबाट कार्यान्वयनका लागि प्रतिवेदन प्राप्त भएको जनाउदै कोषले प्रतिवेदनमा भएका धेरै बुँदामा आपत्ति रहेको बताएको छ । आफ्ना जिम्मेवार पदाधिकारीसँग छलफल नै नगरी केन्द्रले प्रतिवेदन सार्वजनिक गरेको आरोपसमेत कोषले लगाएको छ । कोषका कार्यकारी उपाध्यक्ष प्रेमप्रसाद दंगालले सतर्कता केन्द्रले भनेजस्तो कोषमा अनियमितता नभएको र लगानी पनि लक्षित वर्गमा नै भएको दावी गरे । उपाध्यक्ष दंगालले निर्देशिकामा भएका व्यवस्था र तोकिएका मापदण्ड अक्षरशः पालना भएको भन्दै कहिँ कतै प्रश्न उठाउने ठाउँसमेत नभएको जिकिर गरे । उनले कूल लगानीको ९३ प्रतिशत कर्जा उठाइसकेको र बाँकी ७ प्रतिशतमात्रै उठ्न बाँकी भएको बताए ।

सतर्कता केन्द्रले कार्यकारी निर्देशक नियुक्ति गर्दा उम्मेद्वारले नै हस्ताक्षर गरेर पदपूर्ति समितिको निर्णयमा बहुमत पुर्‍याएको भन्दै त्यसमा छानबिन गर्न सुझाव दिएको छ । तर, कोष कार्यकारी निर्देशक डा। विष्णुपसाद गौतमले आफ्नो नियुक्ति वैधानिक भएको दावी गरे । उनले दोहोरो सुविधा लिएको कुरा भने स्वीकार गरेका छन् । कोषका कार्यकारी निर्देशक गौतम नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकासप्राप्त कर्मचारी हुन् । उनले राष्ट्र बैंकको पेन्सन र कोषको तलब उपयोग गर्दै आएका छन् । सामान्य प्रशासनको एउटा सर्कुलरलाई आधार मान्दै सतर्कता केन्द्रले प्रतिवेदन बनाएको भन्दै उनले आफू निजामति कर्मचारी नभएको बताए ।

सतर्कता केन्द्रले आफ्नो प्रतिवेदनमा कोषका कर्मचारीहरुले गैर सरकारी संस्थाहरु सञ्चालन गरेको समेत बताएको छ । उक्त विषयमा भने छानविन हुने कोषका कार्यकारी निर्देशक गौतमले बताए । ‘कोषका कर्मचारीहरु आइएनजीओहरुमा आवद्ध भएको भन्ने पनि कुरा आएको छ, यस विषयमा हामी छानबिन गर्छौ र त्यसो पाए कानून अनुसारको कारबाही गर्छौ ।’ वेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले २०६५ सालमा युवा स्वरोजगार कोषको स्थापना गरिएको थियो । कोषले दिएको जानकारीअनुसार हालसम्म विभिन्न बैंक, वित्त तथा सहकारी संस्थाहरु मार्फत असोज महिनासम्म ७ अर्ब ७३ करोड ४ लाख २५ हजार रुपैयाँ लगानी भएको छ । लगानी भएको रकममध्ये ३ अर्ब ५९ करोड ३१ लाख रुपैयाँ असुली भइसकेको र ४ अर्ब २२ करोड ७ लाख ४१ हजार १ सय ४ रुपैयाँ लगानीमै रहिरहेको साथै २७ करोड रुपैयाँ ५ लाख ६४ हजार ५ सय ७९ रुपैयाँ भाखा नाघेको कर्जा रहेको कोषले जनाएको छ । -onlinekhabar