‘कुनै पनि प्रकृतिको सहकारी दर्ता वा क्षेत्र विस्तार गर्न नदिने

39

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा जोखिम बढ्दै गएको निष्कर्षसहित कुनै पनि प्रकृतिको सहकारी सँस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृति नदिन भनेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी संघ, प्रदेश र स्थानीय तहबाट कुनै पनि प्रकृतिको सहकारी सस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाउने निर्णय मन्त्रिपरिषदबाट भएकाले सोही अनुसार गर्न÷गराउन भनेको छ। सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुन सक्ने जोखिम बढ्दै गएकाले मन्त्रिपरिषदको निर्णय अनुसार रोक लगाउन भनिएको मन्त्रालयले उल्लेख गरेको छ। देशभर ठूलो संख्यामा रहेका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाबाट पछिल्लो समयमा ठूलाठूला बचत स्वीकार गर्ने र जोखिमयुक्त लगानी गर्ने प्रवृत्तिमा वृद्धि हुँदै गई सहकारी संस्थाका सदस्य तथा बचतकर्ताको बचत फिर्ता हुन नसकी सहकारी संस्थाहरुमा गम्भीर समस्या सिर्जना हुन गएको मन्त्रालयले जारी गरेको छ ।